राजनीति


शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार २०:३०, काठमाडौँ

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने बताएकी छन्।

लियो क्लब ‘डिस्ट्रिक्ट ३२५ई’ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने धारणा राखेकी हुन्।

‘एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ,’ उपाध्यक्ष घिमिरले भनिन्, ‘प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई दलहरूको सहमतिमा राष्ट्रिय सभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ।’

उनले महत्त्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख पनि गरिन्।

उनले भनिन्, ‘प्रतिनिधि सभाले शिक्षा र निजामतीलगायत विधेयक पारित गर्नका लागि शनिबार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधि सभाबाट पारित भएर आएका विधेयकहरू राष्ट्रिय सभामा लामो समय अड्काउने काम गरेका छैनौँ।’

उपाध्यक्ष घिमिरेले नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक न्यायपूर्ण तथा समृद्ध राष्ट्र बनाउने कुरामा पनि महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरिन्।

युवा वर्गको क्रियाशीलताबाट नै राष्ट्र निर्माणका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएकाले युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad