प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि मागपत्र बुझाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिकारीले मागपत्र बुझाएका हुन्।
मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरु प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिश गर्ने विश्वास दिलाए।
प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरुका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिए।
प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरु प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए।
करिव एक घन्टा भेटघाट गरेका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाहरुको स्मरण गरिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
Shares

प्रतिक्रिया