माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार भनिरहेका छन्–एमाले र कांग्रेस गठबन्धनको ‘यो सरकार ढल्छ।’
गत वैशाख ११ गते कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि थाइल्यान्ड पुगेका बेला यता प्रचण्डले माओवादी संसदीय दलको बैठकमै भने–‘नयाँ समीकरणको सरकार बन्ने आधार बन्दैछ। देउवाजी आएपछि थप कुरा हुन्छ।’
देउवा फर्किएको चार दिन भइसक्यो तर समीकरण बदलिने कुनै संकेत देखिएको छैन। बरु भोलिपल्ट नै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गर्दै देउवाले भने– कुनै आशंका नराख्नुस्, सहमती अनुसार नै सरकार अगाडि जान्छ, नियुक्ति छिटो गरौँ।
यही प्रसंग उप्काउँदै हामीले मंगलबार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई सोध्यौँ– ‘सरकार ढल्छ त?’
आफै पनि ‘माओवादी सरकारमा जानु पर्ने हुनसक्छ’ भन्दै आएका पुनले जवाफमा पार्टीको चाहना सरकार ढाल्ने नरहे पनि देशको परिस्थिति असहज बनिरहेकाले यही सरकारले निरन्तरता पाउन नसक्ने बताए।
‘हाम्रो चाहना सरकार ढलोस् भन्ने होइन, सरकार ०८४ सम्मै जाओस्, राम्रो गरोस् भन्ने नै हो,’ नेपालखबर ‘तत्कालै’मा कुराकानी गर्दै मंगलबार पुनले भने, ‘कांग्रेस र एमाले गठबन्धन गर्नुको अर्थ उहाँहरू संविधान निर्माणपछिको एक दशकको प्रयोगबाट पछि हट्ने या यथास्थितिमै रहने हो। हामी यस व्यवस्थाका सीमाहरूलाई परिमार्जन गर्दै अगाडि जाने हो। त्यसअर्थमा उहाँहरू एकै ठाउँमा बस्दा ०८४ मा हामीलाई वैकल्पिक शक्तिका रूपमा जान सजिलो हुन्छ, हामी ०८४ लाई टार्गेट गरेर जान्छौँ। हाम्रो प्राथमिकता त्यही हो।’
‘तर, सरकार भनेजस्तो चलिरहेको छैन,’ लगत्तै पुनले थपे, ‘कांग्रेस–एमालेमा पनि मिल्ती छैन। सरकार राम्रोसँग चलाउन सक्ने सम्भावना देखिएन।’
माओवादी केन्द्रका उपमहासचिव पुनले अहिले व्यवस्थामाथि नै चुनौती थपिँदै गएको बताए।
‘कांग्रेस–एमालेको अयोग्यताका कारणले प्रतिगामी शक्तिले बल पाएका छन्,’ पुनले भने, ‘यो अवस्थामा सरकार परिवर्तन भयो भने हामी सहयोग गर्छौं भनेको हो। हामी आफै सरकार ढाल्न हिड्छौँ, गणितीय खेलमा लाग्छौँ भनेको होइन।’

माओवादीले यो सरकार ढालेर नयाँ समीकरण बनाउन कांग्रेस र एमाले दुवैतिर कुरा गरिरहेको आरोप सत्तारुढ दलकै कतिपय नेताहरू लगाउँछन्। उपमहासचिव पुन भने यो आरोप अस्वीकार गर्छन्।
‘खुला राजनीतिमा सामान्य भेटघाट र कुराकानी सबैसँग हुन्छ तर, सरकार बनाउने र भत्काउने कुरामा हाम्रो तर्फबाट कोहीसँग पनि कुरा भएको छैन,’ उनले भने, ‘कांग्रेस र एमालेका साथीहरूले बेलाबेला कुरा गर्नुहुन्छ। एमालेका साथीहरू भन्नुहुन्छ, हिजो वाम सरकार थियो, त्यसबाट कांग्रेसतिर गएर गल्ती गरियो, धेरै चल्छजस्तो छैन। कांग्रेसका साथीहरू त खुलेरै यो सरकार धेरै बोक्न सकिँदैन भनिरहनुभएकै छ।’
राजावादीहरू सक्रिय भएका कारणले गणतन्त्र जोगाउनका लागि पनि माओवादी कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न तयार भएको पुनले तर्क गरे।
‘यो व्यवस्था ल्याउन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका हाम्रो छ,’ पुनले भने, ‘यो व्यवस्थामाथि चुनौती आएको अवस्थामा स्वाभाविक रूपमा हामीले सरकारलाई राम्रो काम गर्नुस्, जनतालाई विश्वासमा लिनुस् भन्ने नै भयौँ। तर, सरकारले जनताको विश्वास जित्न नसकेको अवस्थामा हामी आफू सरकार बनाउनेमा छैनौँ, एमाले सरकारमै छ, विकल्प भनेको जम्मा कांग्रेस हो। कांग्रेसले विकल्प खोज्छ भने हामी तयार छौँ, सहयोग गर्छौँ भनेको हो। कांग्रेसलाई यत्ति भनेको हो।’
सरकार परिवर्तनका विषयमा माओवादीले कांग्रेस सभापति देउवासहित अन्य नेताहरूसँगै कुराकानी गरिरहेको पुनले स्वीकारे।
‘कांग्रेस सभापतिसँग औपचारिक अनौपचारिक कुराकानी भइरहेको छ। कांग्रेस सरकारको कामसँग सन्तुष्ट छैन,’ उनले भने।

त्यसोभए प्रधानमन्त्री केपी ओलीसँग शेरबहादुर देउवा नै सन्तुष्ट हुनुहुन्न?
‘त्यो त उहाँले नै बताउने कुरा हो,’ पुनले भने, ‘एउटा कार्यक्रममा रोचक के भयो भने सरकारले केही गर्न सकेन, जनता असन्तुष्ट छन् भन्दै शेखर कोइरालाले भाषण गर्नुभयो। अनि सरकारले काम गर्न सकेन भनेर शेखरजीले भनिसक्नुभयो, मैले भन्नुपरेन भनेर शेरबहादुर देउवाले थप्नुभयो। त्यसलाई हामीले संकेतमा बुझ्ने हो।’
पूवअर्थमन्त्री पुन बिचौलियाले सरकार बनाउने, चलाउनेदेखि ढाल्नेसम्म काम गरिरहेको बताउँछन्।
‘बिचौलियाले नजिकैबाट धम्की दिन्छन्, तिमीलाई मन्त्री हुन्न दिन्नँ, सरकार बनाउन दिन्नँ, पार्टी फुटाइदिन्छु भन्दै,’ पुनले भने, ‘यो प्रवृत्ति असाध्यै घातक छ। यो सरकार बिचौलियाको कारणले बनेको हुनाले यस्ता कुरालाई प्रश्रय दिइरहेको छ। बिचौलियाको स्वार्थ नमिल्दा अहिलेको सरकार पनि ढल्न सक्छ भन्छन्। तर, मैले र मेरो पार्टीले भन्ने कुरा के हो भने यो सरकारले जनताको हितमा काम गरिरहेको छैन। राजनीतिक दलभित्र सबैलाई बिचौलियाले प्रभाव पार्न सक्दैन। त्यसो हुँदा कांग्रेसले केही न केही अडान लिन्छ भन्ने हामीलाई लाग्छ।’
शिक्षकहरूको आन्दोलनलाई माओवादीले सरकार ढाल्ने अस्त्र बनायो भन्ने आरोप छ। यसमा माओवादीको धारणा के छ त?
हेर्नुस्, वर्षमान पुनसँग गरिएको नेपालखबर ‘तत्कालै’ :

प्रतिक्रिया