राजनीति


राजेन्द्र लिङदेनलाई प्रश्न: सरकारले त निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ नि?

राजेन्द्र लिङदेनलाई प्रश्न: सरकारले त निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ नि?

जनार्दन पोखरेल
बैशाख ७, २०८२ आइतबार ८:४२, काठमाडौँ

सरकारको चेतावनीका बाबजुद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँका निषेधित क्षेत्रमा प्रदर्शन गर्दैछ। गएको चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा सरकारले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहितलाई पक्राउ गरेर हिरासतमा राखेको छ। उनीहरुकै रिहाइसहितका माग राखेर राप्रपाले आज सिंहदरबार आसपास सहितका निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।

सरकारले भने निषेधित क्षेत्र तोड्ने काम नगर्न राप्रपालाई चेतावनी दिएको छ। गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत सचेत गराएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्नुअघि राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेटघाट गरेका छन्। यसै सन्दर्भमा नेपालखबरले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग संक्षिप्त कुराकानी गरेको छ:

आज तपाईँहरुले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भन्नु भएको छ। कस्तो हुन्छ त्यो कार्यक्रम?

-दिउँसो १ बजेदेखि हामी प्रदर्शन गर्छौँ। सरकारले घोषणा गरेका निषेधित सबै क्षेत्रमा हाम्रो पदर्शन हुन्छ।

प्रदर्शनको निश्चित ठाउँ तोक्नु भएको छैन?
-सरकारले निषेधित भनेर घोषणा गरेका सबै ठाउँमा हाम्रो प्रदर्शन हुन्छ। त्यस्तो निश्चित ठाउँ तोकिएको छैन। 

सरकारले त निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ नि!
-सरकारले त के के भन्छ भन्छ नि। आन्दोलन भन्ने चिज सरकारले यता गर, उता गर, यो बोल, त्याे नबोल भनेर हुन्छ? सरकारले जे जे भन्छ, त्यही त्यही गरेर आन्दोलन कसरी हुन्छ? खाली हामीले के भनेको हो भने, यो हाम्रो शान्तिपूर्ण प्रदर्शन गर्ने हो। प्रतिकात्मक रुपमा आजको कार्यक्रम हुनेछ। 

तपाईँहरुको यो आन्दोलनको खास माग चाहीँ के हो? 
-मूलरुपमा हामीले सधैँ उठाइ आएका राजनीतिक मुद्दाहरु त छँदैछन्। त्यो बाहेक हाल थुनामा रहेका हाम्रा नेता साथीहरुको रिहाइ र गएको चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानविनका लागि आयोग गठन गरिनुपर्छ भन्ने हाम्रो माग हो। 

तपाईँहरुले निषेधित क्षेत्र तोड्ने आन्दोलनअघि पूर्वराजा ज्ञानेन्द्रसँग पनि भेटवार्ता गर्नु भएछ नि?
-त्यो होइन। जसले बोलाए भनेका छन्, यो विषयमा तिनै साथीलाई सोध्नुस्। त्यस्तो केही होइन। 

ज्ञानेन्द्रसँग भेटघाटका लागि गएका राप्रपाका नेताको नामै आएको छ त।
-बेलाबेलामा भेटघाट र कुराकानी त भइराख्छ नि। तर, त्यसप्रकारको मिटिङ भन्ने केही भएको छैन। त्यो त समाचारको विषय नै होइन नि। 

तपाईँहरुले आज निषेधित क्षेत्रमा जसरी प्रदर्शन गर्ने भन्नु भएको छ, यसले त द्वन्द्व अझै बढाउँदैन र?
-द्वन्द्व बढाउँदैन। यसलाई सरकारले कसरी लिन्छ, हामीलाई थाहा छैन। तर, हामी त शान्तिपूर्ण प्रदर्शन गर्छाैँ। अमेरिकामासमेत राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने सुविधा छ जनतालाई। तर, यहाँ चाहीँ निषेधित क्षेत्र घोषित गरेर सुरक्षित ठानेर बस्ने, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको कुरा गर्ने, तर जनतालाई शान्तिपूर्ण प्रदर्शन गर्ने, भेला हुने सुविधाको पनि सीमा तोक्ने शासक छन्। सरकारको यो प्रवृति विरुद्ध आज हामी प्रतिकात्मक रुपमा असहमति व्यक्त गर्छौँ, अबज्ञा गछौँ। आज हामीले १५ गतेको जस्तो ठूलो समूह लिएर जाने भनेका छैनौँ। ठूलो संख्यासहित प्रदर्शन गर्ने पनि होइन। प्रतिकात्मक रुपमा मात्रै आज हामीले प्रदर्शन गर्न लागेका हौँ। 

चैत १५ गतेको प्रदर्शनको सम्बन्धमा तपाईँहरुको भनाई एउटा खालको छ, तर त्यो दिन त आन्दोलनको नाममा धेरै हिंसात्मक क्रियाकलाप भएका छन् नि?
-त्यही भएर हामीले त्यो घटनाको छानविनका लागि आयोग गठन होस् भन्ने माग गरेका हौँ। यसमा आ-आफ्ना तर्कहरु धेरै छन्। त्यसरी हुँदैन। त्यो घटनाको छानविन होस् भनेका छौँ हामीले। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad