राजनीति


नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने- सुशासनका नयाँ मानक स्थापित गरौँ

नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने- सुशासनका नयाँ मानक स्थापित गरौँ

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार ७:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ चुनौती र अवसरहरू लिएर आएको बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नयाँ वर्षको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा विश्वास र प्रतिबद्धता व्यक्त गर्ने सम्पूर्ण नेपाली जनताप्रति हार्दिक आभार प्रकट गरेका छन्। 

‘२०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको छ। जनताको अधिकारलाई ऐतिहासिक रूपमा सुनिश्चित गरेको हाम्रो संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोज्दैछन्,’ प्रचण्डले भनेका छन्, ‘सरकारले दलाल र विचौलियाहरुको पक्षमा स्वेच्छाचारी निर्णयहरू लिइरहँदा जनआक्रोश बढ्दै गएको छ, जसको फाइदा प्रतिगामी शक्तिहरूले लिन खोजिरहेका छन्। त्यसैले सरकारका जनविरोधी क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध संयुक्त प्रतिरोध गर्नु आजको आवश्यकता बनेको छ।’

लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उनले बताएका छन्। ‘नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिन अग्रसर छन्। यही संकल्प र प्रतिबद्धता नै नयाँ वर्ष २०८२ को साँचो अर्थमा शुभकामना हुनेछ,’ प्रचण्डले भनेका छन्। 
    

गौरवशाली इतिहास बोकेका सार्वभौम नेपालीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौँ कीर्तिमान कायम गरेका चर्चा गर्दै उनले भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्ने बताएका छन्। 

‘त्यसैले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइलाहरु अघि बढाऔँ।’ प्रचण्डले भनेका छन्, ‘आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जना गरौँ। सुशासनका नयाँ मानकहरु स्थापित गरौँ। उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढौँ। नयाँ वर्षको अवसरमा यही दृढ संकल्प गर्न आह्वान गर्दै आम जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्। 

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad