राजनीति


तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक

तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १६:४६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरुरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए। 

प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज उनले उक्त प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताएका हुन्। 

सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिए। 

'घाइतेलाई अस्पतालमा पुगेर मैले भेटेको छु। घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहतस्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेर प्रक्रियाअघि बढिसकेको छ' उनले भने। 

गृहमन्त्री लेखकले तीन कुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्यासमेत गरे। 'लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी उचित हुँदैन' उनले भने,'हिन्दू धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नुहुँदैन।'

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकामा जोड दिए। त्यसैले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो। 

'यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर छ। घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक कार्य हो भन्नेमा प्रष्ट छौँ', उनले भने।  

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले हिंसात्मक प्रदर्शन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad