राजनीति


व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छः कमल थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छः कमल थापा

नेपालखबर
चैत २७, २०८१ बुधबार १४:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको भन्दै त्यो प्रयास सफल हुन नदिने टिप्पणी गरेका छन्। 

बुधबार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थपाले सत्तामा आफ्नो वर्चश्व कायम गर्न र ब्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाएका हुन्। 

‘सायद प्रधानमन्त्रीले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ। केही राजनीतिक दलहरूले आफ्नो वर्चश्वलाई कायम गर्न, आफ्नो व्रम्हलुटलाई सुरक्षित गर्नको निमित्त संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ,' उनले भने, 'म विनम्रतापूर्वक आग्रह गर्न चाहान्छु प्रमुख राजनीतिक दलका नेताहरूलाई यो धृष्टता गर्नुभयो भने देशमा आगो बल्छ। त्यो आगोको पहिलो शिकार तपाइँहरू हुनुहुन्छ।’

चैत १५ को घटनाबाट आफूहरू कति पनि बिचलित नभएको उनको भनाइ छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। 

थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने पनि बताएका छन्। 

सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ। उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त गणतन्त्रवादी दलहरु लागि परेको समेत उनको आरोप छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad