राजनीति


राष्ट्र बैंकको गभर्नर बनाउन बिचौलिया चलखेल गर्दैछन्, सरकारलाई वार्न गर्छु– दुर्भाग्य हुन्छ: शेखर कोइराला

राष्ट्र बैंकको गभर्नर बनाउन बिचौलिया चलखेल गर्दैछन्, सरकारलाई वार्न गर्छु– दुर्भाग्य हुन्छ: शेखर कोइराला

नेपालखबर
चैत २४, २०८१ आइतबार १५:४६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।  

आइतबार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व तह नै बिचौलियासँग मिल्दा देश विकासमा समस्या आइरहेको बताएका हुन्। 

‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो। किनभने मलाई धेरै प्रेसर पर्‍यो मैले सकिनँ भनेर भन्नुभयो। हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु- बिचौलियाहरू,' उनले भने, 'हाम्रा नेतृत्वहरू बिचौलियाहरूको खेलमा इन्भल्ब हुनुहुन्छ। त्यो कारणले यो समस्या आइरहेको छ। नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन-चारवटा कुरामा हामीले ध्यान दिनुपर्छ। त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ।’

उनले संविधान संशोधनलाई मुद्दा बनाएर कांग्रेस-एमालेसहितको गठबन्धन बनेको भन्दै ९ महिनासम्म काम नभएकोमा असन्तुष्ट व्यक्त गरे। 

'संविधानमा सुधार गर्ने भनेका छौँ। संविधान पुनर्लेखन त भनेका छैनौँ। त्यसलाई हेरिदिने केके परिवर्तन गर्न सकिन्छ त्यतातिर जाने भनिएको थियो। आज ९ महिना बितिसक्यो हामीले त्यतातिर ध्यान दिन सकेका छैनौँ,' उनले भने, 'के-केमा संशोधन गर्ने हो त्यो हामी हेरौँ, गरौँ गर्नैपर्छ। किनभने यो त प्रधानमन्त्रीजीले रोस्ट्रममा उभिएर बोलेको कुरा हो। यो मैले त्यसै भनेको कुरा होइन। नेपाली कांग्रेस र एमालेको सहमतिको डकुमेन्ट हो यो। दोस्रो कुरा आर्थिक अवस्था एकदम नाजुक छ देशको। त्यसलाई सुधार गर्दै अघि लैजाने। सुधार गर्ने प्रक्रियाहरू अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो। हुन्छ कि भन्ने आशा छ। कत्तिको हुन्छ, हेरौँ। कि त्यहाँ पनि फेरि बिचौलियाहरूकै खेल छ कि?'

उनले अहिले राष्ट्र बैंकको गभर्नर बनाउन बिचौलियाहरू सक्रिय भएको सुनिरहेको बताए। 

'अहिले हामी सबैले सुन्दैछौँ एउटा कुरा- हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दैछन्। त्यो हो भने म त वार्न गर्दछु सरकारलाई,' उनले भने, 'यस्तो भए सरकारको लागि त दुर्भाग्य हुन्छ नै। नेपालको लागि नै दुर्भाग्य हुन्छ। यो अत्यन्त गम्भीर विषय हो। देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन। त्यसपछि उहाँहरूले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौं भन्नुभयो। सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन। औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ। उपायहरू छ त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ। राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ। के नेपाललाई बनाउन सकिँदैन? नेपाललाई बनाउन सकिन्छ। अहिले युवाहरू पलायन भइरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad