राजनीति


बालेन सचिवालय भन्छ: गुरागाईं भ्रष्टाचारी नै हुन्, यसको जिम्मा उपमेयर डंगोलसहितले लिनुपर्छ

बालेन सचिवालय भन्छ: गुरागाईं भ्रष्टाचारी नै हुन्, यसको जिम्मा उपमेयर डंगोलसहितले लिनुपर्छ

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८१ बिहिबार १६:१०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयले आज बिहीबार जबर्जस्ती कार्यालयमा हाजिर गरेर निस्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारी भएको आरोप लगाएको छ। 

नेपालखबरसँग गर्दै बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई महानगरमा स्वागत गरिएको भन्दै आपत्ति जनाए। 

आज बिहीबार उपप्रमुख सुनिता डंगोल, अधिकांश वडा अध्यक्ष र कर्मचारीहरूले गुरागाईंलाई महानगर कार्यालयमा स्वागत गरेका थिए। 

'उहाँ (गुरागाईं)यहाँ भएको गतिविधि रिपोर्टिङ गर्न मन्त्रालय गइसक्नु भयो। आज भ्रष्टाचारमा संलग्न भएको व्यक्तिलाई संरक्षण गरियो,' बालेनका प्रमुख स्वकीयले भने, 'गुरागाईं दोषी देखिनु नै हुन्छ। त्यसपछि उहाँहरूले यसको जिम्मा उपमेयरसहितले लिनुपर्छ।'

उनले उपप्रमुखसहित केही जनप्रतिनिधिहरू र केही कर्मचारी भ्रष्टाचारीलाई जोगाउन संलग्न भएको आरोप लगाए।

'जनप्रतिनिधिहरू, निजामती पोषाकधारी कमर्चारीहरू यसमा संलग्न हुनु भएको छ,' उनले भने, 'जनताको माझ पुगिसकेको कुरा जनताले थप चिन्ने मौका पाए।'

त्यस्तै आज उपप्रमुख डंगोलले बैठक राखेको सुनिएको तर विषय थाहा नभएको उनले बताए।  त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला बालेन शाहले लिएर जानु भएको हो? भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको दाबी गरे। 

'महानगरको एउटा जिम्मेवार पद भएको व्यक्तिको एकल कार्यकक्ष हुन्छ। कार्यकक्षमा महत्त्वपूर्ण कागजात हुन्छ त्यसको संरक्षण गर्ने दायित्व महानगरकै हो,' उनले भने,'कर्मचारी कार्यालय नभएको अवस्थामा कार्यकक्षको ढोकामा ताला लगाइएकै हुन्छ। भएको त्यत्ति हो। मेयरले साँचो बोकेर हिँड्दैन।'

काठमाडौँ महानगरका प्रमुख बालेन स्वतन्त उम्मेदवारी दिएर निर्वाचित हुन् भने उपप्रमुख सुनिता एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएकी हुन्। 

१०४ दिनमा कार्यालय पुगेका थिए गुरागाईं
गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो। 

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले नै कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनीता डंगोल, वडाध्यक्षहरू सबै बैठक बसेका थिए।

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले प्रमुख शाहको चर्को आलोचना गरिन्। ‘कसैको मनमुटाव होला। जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्छ,’ उनले भनिन्,‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनुभएको छ।उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको धारणा पनि राखिन्। 

बालेनले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएका कारण कर्मचारीहरूको नियमित तलबसमेत रोकिएको थियो। त्यसबाट कर्मचारीहरू असन्तुष्ट बनेका थिए। गुरागाईँ कार्यालय पुग्दा केही कर्मचारीहरूले बालेनविरुद्ध नाराबाजी गरेका थिए। 

काठमाडौँ टावर निर्माण अनुमतिलाई लिएर गुरागाईंसँग महागनर प्रमुख बालेनको विवाद चर्किँदै गएपछि अहिलेको अवस्था सिर्जना भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad