नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादी प्रदर्शनकारीको उद्दण्डता रोक्न नसकेकोमा गृहमन्त्री रमेश लेखकसँग असन्तुष्टि जनाएका छन्।
प्रहरी महानिरीक्षक दीपक थापालगायत सुरक्षा अधिकारीकै सामु अध्यक्ष नेपालले गृहमन्त्री लेखकसित तोडफोड र हिसांत्मक घटना हुँदा समेत प्रहरीले केही गर्न नसकेको गुनासो गरेका हुन्।
आलोकनगरमा रहेको एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार राजावादी प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि त्यसको स्थलगत अवलोकनका लागि गृहमन्त्री लेखक पुगेका थिए।
‘तपाईँको आदेश प्रहरीले नमानेको हो कि? हामीलाई त त्यो शंका लागिरहेको छ,’ नेपालले गृहमन्त्रीसँग भने, ‘प्रहरीभित्र पनि यस्ता कुरा हुन्छन् कि?’
भिडिओ:
आधा घण्टा मात्र छिटो प्रहरी आएको भए क्षति नहुने नेपालको भनाइ छ।
त्यसपछि अध्यक्ष नेपालले फेरि प्रहरी महानिरीक्षक थापालाई सोधे, ‘तपाईँको आदेश नमानेका हुन्?’
महानिरीक्षक थापा जवाफ दिँदै भन्छन्, ‘आदेश मानेकै हो हजुर। हिजो त अब सबै टोली खटाएकै हो।’
शनिबार विहान समाजवादी मोर्चाको बैठक समेत बसेको थियो।
शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक रूपमा प्रस्तुत भएका थिए।
उनीहरूले तीनकुने क्षेत्रका केही घरमा आगजनी गरे। दर्जन बढी घर तोडफोड गर्नुका साथै सञ्चारगृहमाथि पनि आक्रमण गरे। कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरे।
यस्तै, सोही उद्दण्ड जत्थाले आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको महत्त्वपूर्ण कागजात बाहिर निकालेर आगो लगाएको थियो।
अध्यक्ष नेपालले शनिबार राष्ट्रपति रामवरणण यादवसँग पनि भेटवार्ता गरेका छन्।
Shares

प्रतिक्रिया