गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्।
जुद्ध वारुण यन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको अवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताएका हुन्।
उनले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको बताए।
उनले जनताको अवाज कुल्चिएर लोकतन्त्र समाप्त पार्ने राजतन्त्र ठिक कि जनताको अवाज सुन्ने गणतन्त्र ठिक भन्दै प्रश्न गरे। लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमहरूले प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ।
‘अहिले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ। लोकतन्त्रले केही गर्न सकेन। गणतन्त्रले केही गर्न सकेन। यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोसिस भैरहेको छ। यो अत्यन्त गलत कुरा हो,' उनले भने।
Shares

प्रतिक्रिया