नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर आजबाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी प्रधान कार्यालयमा उनको बिदाइ कार्यक्रम राखिएको छ। तर, सरकारले अर्को व्यक्ति नतोक्दा उनले प्रहरीको कमान्ड हस्तान्तरण गर्न पाएका छैनन्। उनी अहिले प्रहरी प्रधान कार्यालयमै छन्।
स्रोतका अनुसार एउटालाई जिम्मेवारी दिएर बिदाइ हुँदा सरकारले अर्कै व्यक्तिलाई आजै नियुक्ति गरिदियो भने समस्या हुने भन्दै कुँवरले कसैलाई पनि जिम्मा तोकेका छैनन्।
३ बजे मन्त्रिपरिषद् बैठक बसेर नयाँ आईजीपी नियुक्ति हुने सन्देश प्रहरी प्रधान कार्यालय पुगे पनि अहिलेसम्म मन्त्रिपरिषद् बैठक नै बस्न सकेको छैन।
'मन्त्रिपरिषद्का आईजीपी नियुक्तिलगायत आज दुईवटा मात्रै एजेन्डा छन्। तीन बजे बैठक बसेर नाम पठाइहाल्छौँ भन्ने सन्देश प्रहरी हेडक्वार्टरमा आएको थियो। अहिलेसम्म केही आएको छैन। हामी अन्यौलमै छौँ' प्रहरी हेडक्वार्टरका एक अधिकारीले नेपालखबरसँग भने।
स्रोतका अनुसार सरकारले ३ बजे नयाँ आईजीपी नियुक्त गर्ने सन्देश दिएपछि उनको बिदाइ ४ बजेलाई राखिएको थियो। कुँवर २०७९ चैत १० गते नेपाल प्रहरीको आईजीपी पदमा नियुक्त भएका थिए।
Shares

प्रतिक्रिया