नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान स्थगित गर्नुको तीन कारण बताएका छन्।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको दाबी पनि गर्दै स्थगित गरिएकामा प्रस्टीकरण पनि दिए।
प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको र त्यसविरुद्ध माओवादीले संघर्ष गर्नुपरेको, संसदमा पनि केन्द्रित हुनुपरेको र यहीबेला स्ववियु निर्वाचन पनि परेकोले अभियान स्थगित गर्नुपरेको उनले बताए।
अध्यक्ष प्रचण्डले भने, ‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं।’
सरकारका गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको र त्यसविरुद्ध माओवादीले संघर्ष गर्ने उनको भनाइ छ।
काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी दिए। साथै, भोलि बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने उनले बताए।
माओवादीले फागुन १२ गते झापाबाट जागरण अभियान सुरु गरेको थियो। चैत ७ गते कञ्चनपुर पुगेर अभियान समापन गर्ने पूर्वनिर्धारित तालिका भए पनि शनिबार (फागुन २४) रौतहट पुगेर रोकिएको थियो।
राजावादीका गतिविधि बढेकाले अभियान रोक्नुपरेको नेताहरूको भनाइ थियो।
आइतबारको कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेस जागरण अभियानमा क्रियाशील छौं। अभियानमा सम्पूर्ण पार्टी पंक्ति सक्रिय छ। हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं। यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ। जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्।’
सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले बताए।
‘हामी राम्रो काम गर्दै थियौँ तर उनीहरूले हाम्रो सरकार हटाइदिए। तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन्। हामीले प्रचारप्रसार गर्नै परेन। मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ। ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो। यो कुरा जनताले राम्रोसँग बुझेका छन्,’ उनले स्पष्ट पारे।
जागरण अभियानका क्रममा पूर्वको झापादेखि महोत्तरीसम्म करिब ४ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गर्दै उनले तीमध्ये जनताबीच राम्रो प्रभाव भएका नेताहरू पनि रहेका कारण पार्टी पंक्तिमा उत्साह थपिएको दाबी गरे।
उनले भने, ‘यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावनालाई पुष्टि गरेको छ। नेताहरूको साथमा अभियानमा सहभागी हुँदा जनतामा झनै उत्साह देखिएको छ। विगतमा पार्टीबाट अलग भएका धेरै नेताहरू पनि व्यक्तिगत रूपमा पार्टीमा पुनः प्रवेश गरेका छन्।’
माओवादी केन्द्रले अभियान केही दिन रोक्दा पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेताहरू, बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको बताउँदै त्यसले अभियानको प्रभाव स्पष्ट देखिएको उनले उल्लेख गरे।
नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गरे।
Shares

प्रतिक्रिया