मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला पर्न नसके मृतकसरह मानिने भएको छ।
२०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।
यस्ता छन्ः सरकारका निर्णयहरुः
भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने ‘हाइ लेभल १२ रिजनल ३आर एण्ड सर्कुलर इकोनोमी फोरम इन द एसिया एन्ड द प्यासिफिक’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशप्रसाद सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने ‘एसिया एन्ड द प्यासिफिक रिजनल प्रिप्याराटोरी मिटिङ फर द २ युनाइटेड नेसन्स फुड सिस्टम समिट स्टोकट्याकिँङ मुमेन्ट (यूएनएफएसएस ४)’कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
संयुक्त राज्य अमेरिकाको ‘हावर्ड युनिभर्सिटि इन क्याम्ब्रिज, मासाचुसेतस्’मा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने ‘हावर्ड मसनिस्टरियल लिडरसिप प्रोग्राम अन्तर्गतको २०२५‘हावर्ड मिनिस्टरियल लिडरसिप फोरम’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रश्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी दिने।
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा श्री शरद ओझा, कञ्चनपुरलाई नियुक्त गर्ने।
२०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाई स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन माननीय खानेपानी मन्त्रीलाई स्वीकृति दिने।
संवत २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने।
झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने।
२०८१ फागुन २७ र २८ मा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा आयोजना हुने ‘एनुअल ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन कन्फिरेन्स’ विषयक कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एकजनालाई बढुवा गर्ने। साथै एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्ने।
मिति २०८१ फागुन २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘वर्ल्ड सस्टेनेवल डेभलपमेन्ट समिट (डब्लुएसडीएस)’ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने।
पथरी शनिश्चरे नगरपालिका, मोरडलाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं. १० मा रहेको राष्ट्रिय बनको जग्गा प्रयोग गर्न स्वीकृति दिने।
आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनको ‘नेसनल एथनिक अफेयर्स कमिसन (एनईएसी)’ बीच हस्ताक्षर हुने ‘स्ट्रेनथेनिङ फ्रिन्डली कोअपरेसन’ विषयक समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने।
Shares

प्रतिक्रिया