बेरुजु हटाउन सांसदहरूको भूमिका महत्वपूर्ण हुने सांसदहरूले नै बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित महालेखापरीक्षको वार्षिक प्रतिवेदन र संसद्को भूमिका कार्यक्रममा सांसदहरूले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी विना लामाले प्रतिवेदनको आधारमा पारदर्षिता र जवाफदेहिताको संस्कृति स्थापित गर्न सरकारलाई बाध्य पार्न सांसदहरूले भूमिका खेल्नुपर्ने बताइन्। उनले प्रतिवेदनको छलफल लेखा समितिमा मात्रै नभई संसद्मा गर्नुपर्ने सुझाव दिइन्।
‘यदि साँच्चिकै प्रभावकारी रुपमा महालेखपरीक्षकले कार्यहरू कार्यान्वयन गर्नका लागि सहज गर्ने हो भने संसद्मा सांसदहरूसँग छलफलमा ल्याउनुपर्थ्यो तर अहिलेसम्म ल्याउन सकेको छैन,' उनले भनिन्, 'यस विषयमा सचिवलगायत सबैजनालाई म ध्यानाकर्षण गराउन चाहन्छु । यस्तो गर्न सकियो भने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ। अर्को कुरा प्रतिवेदनको आधारमा पारदर्षिता र जवाफदेहिताको संस्कृति स्थापित गर्न सरकारलाई बाध्य बनाउन पनि अब सांसदहरूले नै भूमिका खेल्नसक्छ। सार्वजनिक लेखा परीक्षक समितिमा मात्रै नभई फुल हाउसमै यसको छलफल गर्यो भने अझ सरकारलाई बाध्यकारी बनाउन सकिन्छ।'
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद रामप्रकाश चौधरीले बेरुजु भन्ने बित्तिकै नराम्रो सोच्ने गरे पनि त्यस्तो नरहेको बताए। उनले तीन किसिमबाट बेरुजु हुने भन्दै कागजात नमिलेर पनि बेरुजु हुनसक्ने बताए।
वैधानिक निकाय, मन्त्रालय, संघ, प्रदेशलगायत सबैको महालेखापरीक्षकको प्रतिवेदन राम्रै आएको उनको भनाइ छ ।
‘बेरुजु भन्ने बित्तिकै गयो गयो भन्ने हुन्थ्यो। सबै संवैधानिक आयोगहरू, संघसंस्था, मन्त्रालय संघीय संसद, प्रदेश, स्थानीय निकायलगायत सबैको हेर्दाखेरि महालेखाको रिपोर्ट राम्रै आयो,' उनले भने।
राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले हालसम्म बेरुजु असुली गर्न कति बाँकी छन् र कहिलेसम्म असुली गर्नुपर्ने हो ? भन्दै प्रश्न गरिन्।
‘बेरुजु असुली गर्ने कुरा छ, हुन त प्रतिवेदनमा हुनसक्छ, यो कति समयभित्रमा असुली गर्नुपर्ने हो? नगरेपछि के व्यवस्था छ ऐन कानुन र नियमावलीमा पनि होलान्,' उनले भनिन्, 'कतिसम्म बाँकी छन् यस्ता पुराना असुली गर्नुपर्ने कुराहरू? भन्ने जिज्ञासा राख्न चाहन्छु।’
जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले कामको जिम्मा लिएर काम सुरु गर्ने तर निर्माण अलपत्र पारेर ठेकेदारहरू भाग्ने गरेकाले समस्या देखिएको बताइन्। उनले तलसम्म पुगेको भ्रष्टाचार सुधार्न मेहतनत गर्नुपर्नेमा जोड दिइन्।
‘काम नगरेर ठेकेदारहरू भाग्ने स्थिति पनि मैले देखेको छु गाउँघरमा। त्यसकारण विकास साझेदारहरू, ठेकेदारहरू नै भागेर गैसकेपछि थोरैमा बिडिङ गर्ने र काम गर्न नसक्ने भएपछि यो कसरी अगाडि जान्छ?,' उनले भनिन्, 'अर्को कुरा भ्रष्टाचारको कुरा तल तलसम्म पुगेको छ त्यसलाई नियतले सुधार्नका लागि पनि अलिकति हामीले वर्कआउट गर्नुपर्छ। बजेट अहिले बन्दैछ बजेट बन्ने बेलामा हाम्रो सदनमा धेरै छलफल हुन्छ तर केही पनि सुधार हुँदैन, महिनौँ दिन बजेटमा छलफल किन गर्ने?’
Shares

प्रतिक्रिया