सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको बताएका छन्।
बुधबार नेकपा एमाले निकट प्रेस चौतारी नेपाल एसोसिएसन प्रदेश समितिको अधिवेशनमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले संठनका सदस्यहरु अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताए।
मन्त्री गुरुङले आफूले सपथ खुवाएको र आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरित काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै यस्तो गर्न नहुने उल्लेख गरे। संगठनमा रहेका खराब व्यक्तिहरुलाई समयमै निकाल्न नसके संगठन नै ध्वस्त हुने उनको भनाइ छ।
उनले भने, ‘पार्टीभित्र रहेको दक्षीणपन्थि अवसरवाद हो। अवसरवादका कस्ता अखालका प्रवृतिहरु छन् तपाईलाई थाहा छ? व्यक्तिवाद दक्षिणपन्थी अवसरवादको पहिलो प्रवृत्ति हो। त्यसका बारेमा मैले व्याख्या गर्नै पर्दैन। अर्को, उदारवाद। विभिन्न बाहानामा आफ्नो हो भनेर कारबाही नगर्ने प्रवृत्ति मौलाउदै गएको छ। बोरामा कुहिएको एउटा आलुलाई समयमै निकालिएन भने सिंगो आलुलाई ध्वस्त बनाएझै संगठनभित्र रहेको खराब प्रवृतिको मान्छेलाई निकाल्न सकिएन भने सिंगो संगठनलाई नै ध्वस्त बनाउँछ। यो चाहीँ उदारवाद हो।’
अनुशासन बिना कुनैपनि लडाईं जित्न नसकिने उल्लेख गर्दै उनले पार्टी निकट संगठनका सदस्यहरुलाई अनुशासनमा बसि पार्टी निर्णयअनुसार काम गर्न आग्रह गरे।
Shares

प्रतिक्रिया