विभिन्न राजनैतिक दलका सांसदहरूले नेपालमा भित्रिने वैदेशिक सहायताको परीक्षण गर्न माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले नेपाल भित्रिने सहायतालाई कडाइका साथ परीक्षण गर्न माग गरेका हुन्।
बैठकमा सांसदहरुले सहायता स्वीकार्नु अघि के कामका लागि, लिन वा दिन लागिएको हो त्योबारे परीक्षण गरेर मात्र लिनुपर्ने बताएका हुन्।
बैठकमा नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारले हाल कति पैसा, कहाँबाट, के कामको लागि लिएको छ त्यसको परीक्षण गर्न माग गरे। बजेटको प्रणालीमा कति पैसा आउँछ र बाहिर कति पैसा खर्च हुन्छ त्यसको लेखाजोखा सार्वजनिक लेखा समितिले गर्नुपर्ने उनको भनाइ छ। सहायता लिने विषयमा नेपाल सरकारलाई सचेत गराउन आवश्यक रहेको उनले बताए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दातृ निकायले जुनसुकै क्षेत्रमा सहायता दिने र आफू अनुकूलको काम गर्ने विकृतिलाई हटाउन समितिले ठोस काम गर्न आवश्यक रहेको बताए।
अमेरिका जस्तो देशले आर्थिक अनुशासन भनेर खर्च कटौति र सहायतामा लगाम लगाए जस्तै नेपालले पनि कडाइ गर्न ढिला गर्न नहुने उनको भनाइ छ।
नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले गैरसरकारी संस्थाले चलाएका ठूलो रकमका कार्यक्रमहरु बजेटरी प्रणालीमा ल्याउन माग गरे।
धेरै परियोजना बजेटरी प्रणालीभन्दा बाहिरबाट सञ्चालन भइरहेको र ती परियोजनामा चरम लापरबाही र भ्रष्टाचार भएको उनको भनाइ छ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि धमाधम त्यस्ता सहायता रोकिरहेका छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत मात्र पनि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, उर्जा तथा महिला, बालबालिकालगायत क्षेत्रमा कार्यक्रमहरूमा अमेरिकाले सहायता उपलब्ध गराउँदै आएको थियो।
ट्रम्पको कार्यकाल सुरु भएसँगै युएसएआइडी नै बन्द गर्ने निर्णय गरेकाले नेपाल सहित विश्वभर युएसएआइडीमार्फत सञ्चालन हुने कार्यक्रम प्रभावित भएका छन्।
Shares

प्रतिक्रिया