नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्।
शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले ल्याएको बताए।
उनले दुई प्रमुख राजनीतिक दलले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरू रहेको बताए।
‘अहिले सरकारले जुन हिसाबले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोशिस गरेको छ। अब अध्यादेशको विरोध भयो भन्ने बित्तिकै त्यो कोशिस असफल हुन्छ भन्ने नठान्नुहोला,' उनले भने, 'किनकी यो प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको काम हो। त्यसअर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ। कसैले विरोध गर्यो भनेर त्यो विरोधले रोकिनेवाला छैन। अनेक विकल्पहरू छन्।'
विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गरेरै छोड्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया