राजनीति


विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्‌का अध्यक्षलाई पत्र

विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्‌का अध्यक्षलाई पत्र

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १४:७, काठमाडौँ

सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसद्‌का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेखेका छन्।

सभामुख घिमिरेले अरब संसद्‌का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन्।

‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

पत्रमा सभामुखले भनेका छन्, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु।’

हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो। जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ।

गएको आइतबार नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसद्‌ीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए।

पत्रमा सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन्।

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad