जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ।
तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा सरकारले माघ २४ गतेको संसदमा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्नेबारे छलफल भएको जसपा, नेपालले जनाएको छ।
अध्यादेशको विषयमा मंगलबार सिंहदरबारमा बस्ने जसपा नेपालको संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ। अध्यादेश पारित हुने नहुनेमा जसपा नेपालको भूमिका निर्णायक भएकोले सो बारे पार्टीको निर्णयलाई चासोका साथ हेरिएको छ।
यस्तै, जसपाले पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गर्दै घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ।
किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथिको सरकारी दमन लोकतान्त्रिक मुल्य मान्यताको विरुद्ध रहेको ठहर गर्दै बैठकले यसप्रकारका अलोकतान्त्रिक सरकारी कदमको निन्दा गरेको छ।
धार्मिक साँस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर त्यहाँका आदिवासी–जनजाति समुदायको अधिकारको हनन गरेको बैठकको ठहर रहेको छ।
बैठकले तीनवटा प्रदेशका इन्चार्जहरुको जिम्मेबारी हेरफेर गरेको छ। लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ।
कार्यकारिणी बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को प्रदेश, जिल्ला, पालिका र वडास्तरगत समिक्षा गरेको छ। निर्वाचन क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ।
माघ मसान्तपश्चात उक्त अभियान स्थगित गरेर आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेसन सम्पन्न गर्न मातहतका संगठनहरुलाई बैठकले निर्देशन दिएको छ।
जसपा नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने गृहकार्यलाई अघि बढाएको छ। बैठकमा समिति गठनका लागि दुई दर्जन नेताहरुको नामावली संकलन गरिएको छ। थप छलफल र गृहकार्य गरी संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य सदस्यहरु चयन गर्ने बताइएको छ।
कार्यकारिणी समितिमा नयाँ सदस्यहरु थप्ने गरी गठित कार्यदलको प्रतिवेदन उपर छलफल भएपनि चाडै नै थप गृहकार्य गरेर नयाँ सदस्यको टुंगो लगाउने निर्णय भएको छ।
कार्यकारिणीमा नयाँ सदस्यका लागि दश जनाको नाम प्रस्ताव आएको बताइएको छ। तीनजना विभागीय प्रमुखसहित हाल ३५ सदस्सीय कार्यकारिणी समिति रहेको छ।
Shares

प्रतिक्रिया