नेकपा माओवादी केन्द्रका सांसदसमेत रहेका नेता सुदन किराँतीले पार्टीका नेताहरूले लगानी गरेका विद्यालय/कलेजको विवरण सार्वजनिक गर्न सुझाव दिएका छन्। अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएलगत्तै शुभकामना दिँदै उनले ६ महिनाभित्र विदेश पढ्ने माओवादी नेताका छोराछोरीको यथार्थ जानकारी बाहिर ल्याउन सुझाव दिए। किराँतीले क्रान्तिकारीको २३ औं राष्ट्रिय अधिवेशनबाट प्रतिस्पर्धाको विधि स्थापीत भएको पनि बताए।
'माओवादीभित्र प्रतिस्पर्धाको विधि स्थापित भयो। विधिले जित्यो,' उनले हिमालप्रेससँग भने, 'यसपटकदेखि विद्यार्थीको उमेर हद लागू गर्न पाइयो। यो ऐतिहासिक कार्य भयो। अब जित्नेहरूलाई बधाई शुभकामना।'
उनले विद्यार्थी नेतृत्वलाई सुझाव दिँदै थप भने, 'अबको छ महिनाभित्र केन्द्रीय सदस्यका छोराछोरीहरू कुन-कुन देशमा कुन-कुन स्कुलमा पढ्छ। कुन-कुन स्कुलमा हाम्रा नेताको लगानी छ त्यो सार्वजनिक गर्न माग गर्छु। ६ महिनाभित्र सार्वजनिक गर्यो भने विद्यार्थी आन्दोलन माथि उठाउन सहयोग पुग्छ। निरन्तरतामा क्रम भंग गर्नुपर्छ।'
आज सम्पन्न मतगणनाबाट अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन्। क्रान्तिकारीको नयाँ कार्यसमितिमा पार्टी उपमहासचिव जनार्दन शर्मानिकट हावी भएका छन्।
Shares

प्रतिक्रिया