राजनीति


संसद्‌मा दर्ता भयो सामाजिक सञ्जाल विधेयक

अब सामाजिक सञ्जालमा गर्न पाइन्न यस्ता काम, हुनसक्छ ५ लाखसम्म जरिवाना
संसद्‌मा दर्ता भयो सामाजिक सञ्जाल विधेयक

नेपालखबर
माघ १५, २०८१ मंगलबार १४:२७, काठमाडौँ

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्‌मा दर्ता भएको छ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकारले ल्याएको नयाँ विधेयक मंगलबार राष्ट्रिय सभामा दर्ता भएको हो। 

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा मुख्यतः सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न अनुमति लिनुपर्ने, सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त, साइबर बुलिङ गर्न नहुने, साइबर स्टकिङ गर्न नहुने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न नहुनेलगायत विषय समेटिएका छन्।

कानुनविपरीतका गतिविधि गर्नेलाई विधेयकमा सजायको व्यवस्था पनि गरिएको छ।

नयाँ विधेयकअनुसार अब सामाजिक सञ्जाल प्रयोकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा विभिन्न सर्त पालना गर्नुपर्नेछ।

विधेकको दफा १६ को उपदफा १ मा प्रयोगकर्ताले पालना गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। 

यो व्यवस्थाअनुसार प्रयोगकर्ताले कसैको मानप्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पिच (कुनै व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्ंभाव बिगार्ने विषयवस्तु) मानिने काम गर्न पाइने छैन।

मिथ्या तथा भ्रामक सूचना दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गर्न पाइने छैन। 

अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने विषयवस्तु पनि प्रसार गर्न पाइने छैन। 

कानुनविपरीतका यस्ता कुरालाई गलत मनसायले सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यास्ट्याग वा मेन्सन गर्न पाइने छैन।

यस्ता कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई सरकारले ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad