राजनीति


सत्ता गठबन्धनका वरिष्ठ नेताहरूलाई ‘न्यूनतम राजनीतिक संस्कार कायम राख्न’ सोबिताको सुझाव

सत्ता गठबन्धनका वरिष्ठ नेताहरूलाई ‘न्यूनतम राजनीतिक संस्कार कायम राख्न’ सोबिताको सुझाव

फाइल तस्बिर: सांसद सोबिता गौतम


नेपालखबर
माघ १३, २०८१ आइतबार १३:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सांसद सोबिता गौतमले सत्ता पक्षका ‘वरिष्ठ नेताहरू’लाई न्यूनतम राजनीतिक संस्कार कायम राख्न अनुरोध गरेकी छन्। 

सहकारी ठगी मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई सरकारका रहेका दलका शीर्ष नेताहरूले अदालतको फैसला आउनुअघि नै दोषी देखाउनेगरी सार्वजनिक भाषण गरेको भनी सांसद गौतमले रोष प्रकट गरेकी हुन्। 

‘एकातिर सरकारले रवि लामिछानेमाथि दूषित मनसाय राखेर अभियोजन गरिराखेको छ। अर्कोतिर त्यति गर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नुअघि नै अपराधी करार गरेर समाजमा झुटो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ। अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ’, सांसद गौतमले आइतबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धित निकायहरूको गम्भीर ध्यान जावस्। वरिष्ठ नेतृत्वहरूले कम्तीमा न्यूनतम राजनीतिक संस्कारचैँ कायम राखिदिनुस्।’

‘मभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध’ शीर्षकमा उनले अगाडि लेखेकी छन्, ‘सत्ताको शक्तिले अदालतलाई यस्तो यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ। यो प्रवृत्ति रोक्नुहोस्। बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बोकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसो गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौं भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन।’ 

कास्की अदालतमा ६५ लाख र काठमाडौँ अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका रविविरुद्ध अहिले रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad