राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला आयोग बाहेक अन्य संवैधानिक आयोगको नेतृत्वमा महिला नभएको भन्दै असन्तुष्टि जनाएकी छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज निजामती सेवा विधेयकका विषयमा छलफलका लागि संवैधानिक आयोगका पदाधिकारीहरूलाई बोलाएको छ।
छलफलमा बोल्ने क्रममा अध्यक्ष पराजुलीले महिला आयोगमा चाहिँ महिला अध्यक्ष हुनुपर्ने भएर महिला हुन सकेको तर, अन्य आयोगमा बाध्यकारी व्यवस्था नहुँदा महिलाले नेतृत्व गर्न नपाएको बताएकी हुन्।
पराजुलीले भनिन्, ‘अहिले हाम्रो १३ वटा संवैधानिक आयोगलाई हेर्ने हो भनेदेखि राष्ट्रिय महिला आयोगको अध्यक्ष चाहिँ महिला रहेको अवस्था छ, तर १२ वटा आयोगमा कोही पनि महिला अध्यक्ष हुनुहुन्न। यसको मतलव ती बाँकी आयोगमा अध्यक्ष हुनको लागि योग्य महिला नभएर पक्कै होइन होला। र, यदि महिला आयोगमा पनि पुरुष पनि हुनसक्ने व्यवस्था थियो भनेदेखि त्यो आयोगमा महिला नै अध्यक्ष हुने सम्भावना कम हुनसक्थ्यो होला।’
‘अरू आयोगको हकमा एउटा मधेशी आयोगमा चाहिँ दुईजना सदस्य महिला हुनुहुन्छ, बाँकी आयोगमा थुपुक्क १/१ जना महिला सदस्य हुनुहुन्छ। त्यसमा पनि अहिलेसम्म ६ वर्षै बित्न लाग्यो, मुस्लिम आयोगमा अझै पनि एकजना महिला सदस्य पनि रहनुभएको छैन। त्यस्तै, प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि एकजना पनि महिला हुनुहुन्न,’ उनले थपिन्।
कानुनमा बाध्यकारी व्यवस्था नगरेसम्म महिलाले अवसर पाउन नसक्ने पराजुलीको टिप्पणी छ।
Shares

प्रतिक्रिया