राजनीति


हिउँदे अधिवेशन नजिकिएसँगै तात्यो मिनी संसद्, आज पनि ६ समितिका बैठक

हिउँदे अधिवेशन नजिकिएसँगै  तात्यो मिनी संसद्, आज पनि ६ समितिका बैठक

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८१ शुक्रबार १०:२८, काठमाडौँ

संसद्‌का ६ वटा समितिको बैठक आज बस्दै छन्। शुक्रबार प्रतिनिधि सभाका ५ र राष्ट्रिय सभाको एउटा समितिका बैठक बस्न लागेका हुन्।

प्रतिनिधि सभाका १० समितिमध्ये कृषि, अर्थ, शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र राज्य व्यवस्था समितिका बैठक बस्ने भएका हुन्।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ। 

राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्ने क्रममा आज लोकसेवा आयोगसँग छलफल गर्दै छ। समितिको बैठक बिहान साढे ११ बजे बोलाइएको छ। 

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची छ। 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप-२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्दैछ। 

कृषि समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ। ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ भने नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थितिका बारेमा पनि आज छलफल हुने बताइएको छ। 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दै छ।  समितिको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

संसदको हिउँदे अधिवेशन नजिकिएसँगै ‘मिनी संसद’ भनिने संसदीय समितिहरू सक्रिय भएका छन्। हिजो एकैदिन संघीय संसदका ७ समितिको बैठक बोलाइएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad