नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यकर्ताहरुलाई पार्टी महाधिवेशन र २०८४ को चुनावको धेरै चर्चा नगर्न आग्रह गरेका छन्। मंगलबार बीपीको मेलमिलाप नीतिबारे चर्चा गर्न काठमाडौँमा आयोजित कार्यक्रममा उनले पार्टीको मञ्चहरुमा खाली महाधिवेशन र चुनावको मात्रै चर्चा हुने गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरे।
‘पार्टीको मञ्चमा आजभोलि हेर्छु, जहाँ पनि बहस, छलफल केमा भइरहेको छ? कि हामी २०८४को चुनावको कुरा गर्छौं, कि हामी महाधिवेशनको कुरा गर्छौं,’ थापाको आग्रह छ, ‘छोड्दिउ। १५ औं महाधिवेशन हुन्छ। १२ औं, ११ औं, १० औं भएको छ भने अरु किन हुन्न? रुवाबासी किन गरिरहेका छौं? महाधिवेशन हुन्छ कि हुँदैन?’
प्रतिबन्धित अवस्थामा समेत पार्टी अगाडि बढेको भन्दै उनले समयमै पार्टी महाधिवेशन हुनेमा ढुक्क हुने आग्रह गरे। ‘कोही महाधिवेशन गर्ने पक्षका बनेका छौं, कोही महाधिवेशन नगर्ने बनाइएका छौं,’ थापाले भने, ‘प्रतिबन्धित कालमा त सम्हालेर आएको नेपाली कांग्रेस पार्टीले (महाधिवेशन) आनन्दले गर्छ। तपाईंहरुले हामीलाई जिम्मा दिनु भएको छ। ढुक्क हुनुहोस्, पार्टीको महाधिवेशन समयमै हुन्छ। छोड्दिनुहोस्। यो महाधिवेशनका बारेमा धेरै चर्चा पनि नगर्नुहोस्। महाधिवेशन पार्टीको नियमित प्रक्रिया हो। को नेतृत्वमा आउने कुरा त्यो समयमै सोचौंला।’
२०८४ को चुनावको पनि धेरै गर्न नहुने भन्दै आफ्नो जिम्मेवारी पुरा गरेमा त्यसको परिणाम पनि आफ्नै पक्षमा आउने जिकिर गरे। ‘त्यसपछि २०८४ को चुनाव पनि बिर्सौं अहिले,’ थापाको आग्रह छ, ‘हामीले अहिले ०८४ को चुनावको धेरै कुरा गर्न हुँदैन। हामी भर्खर ०८१ मा छौं। त्यो भन्दा हाम्रो जिम्मेवारी छ। हाम्रो जिम्मेवारी पुरा गर्यौं भने ०८४ को चुनाव आफैं हाम्रो पक्षमा आउँछ।’
Shares

प्रतिक्रिया