नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको ७ बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगरपालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।
‘सरकार गठन भएको ५ महिना बित्दा पनि गठबन्धनको भावना अनुसार चल्नसकेको छैन,’ उनको आरोप छ, ‘यसले कांग्रेसको घोषणा पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन। कांग्रेस-एमालेबीच गठबन्धन हुँदै गर्दा जनतामाझ व्याप्त निराशालाई आसामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा व्यक्त गर्नु भएको थियो। त्यस अनुरूप काम देखिएन। प्रतिबद्धता अनुसार काम नहुँदा पुनः जनतामा वितृष्णा फैलिने हो कि भन्ने डर बढ्न थालेको छ।’
वर्तमान सरकारलाई ७ बुँदे सहमति कार्यान्वयनबाट पछि हट्ने छुट् नभएको भन्दै उनले भने, ‘कांग्रेस संसद्को ठूलो दलको हो। कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ। सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुनसक्छ।’
उनले यतिबेला कांग्रेस जनताको भावना बुझ्न १०० दिने अभियानका माध्यमबाट जनताको घर दैलोमा रहेको र पार्टीप्रति थुप्रै सुझाव तथा आशा पाइएको उनले दाबी गरे। ‘हामीले देशभर जनतासँग कांग्रेस, सरकार र विकासका बारेमा संवाद तथा समीक्षा गरेका छौं,’ महरले भने, ‘१६ पुसमा कांग्रेसको १०० दिने अभियान सकिएपछि हामी सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझाव अनुसार सत्ता सहयात्राबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्छौं।’
Shares

प्रतिक्रिया