राजनीति


उत्पीडित वर्गलाई समान हक नदिई देश अघि बढ्न सक्दैन : देउवा

उत्पीडित वर्गलाई समान हक नदिई देश अघि बढ्न सक्दैन : देउवा

नेपालखबर
पुस ३, २०८१ बुधबार १७:३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको बताएका छन्।

बुधबार काठमाडौंमा नेपाल उत्पिडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री देउवाले नेपालको संविधान र कानूनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएको भएपनि व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

दलित वर्गलाई राज्यका निकायहरुमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतिको विषय रहेको भन्दै त्यसतर्फ गम्भीर समीक्षा गर्दै राज्यले पहलकदमी लिन आवश्यक रहेको उनको भनाई थियो।

सदियौँदेखि उपेक्षित, उत्पीडित वर्गको राज्यमा समान हक र पहुँच बिना समृद्धिको नारा दिएर मात्रै देश अघि बढ्न नसक्ने बताए। सामाजिक र सांस्कृतिक रुपान्तरणको मुद्दालाई व्यवहारिक कार्यान्वयन गर्न सरकार, राजनीतिक दल, दलित समुदायसहित सिंगो समाज एकाकार भएर लाग्नुपर्ने देउवाको धारणा छ।

उनले भने, ‘समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो। राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव हुन्छ। नेपालको संविधान र कानूनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएका छन्। तर यसको व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन जरुरी छ।’

उनले थपे, ‘हाम्रो संविधानले खास गरी राज्यको मुल धार भन्दा बाहिर रहेका जाति, वर्ग, क्षेत्र र समुदायका लागि राज्यका सबै निकायमा यथा सम्भव समानुपातिक, समावेशिता र आरक्षणको सुनिश्चितता गरेको छ। यही मान्यतालाई आत्मसाथ गर्दै हामीले दलित आयोग जस्ता संवैधानिक संस्थाहरुको गठन गरेका हौँ। त्यसका बाबजुत दलित वर्गलाई राज्यका निकायहरुमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतिको विषय छ।’

सभापति देउवाले दलित वर्गको हक, अधिकार र समावेशिताको विषय दलित समुदायको मात्रै नभइ गैरदलित समुदायको पनि विषय भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad