प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाजलाई व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गरेका छन्।
बुधबार काठमाडौंमा नेपाल उत्पिडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सबैभन्दा पहिला मानिस हौँ भन्नेकुरा बुझ्न जरुरी रहेको बताए।
प्रधानमन्त्री ओलीले मानिस सबै बराबर हुने बताए। जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको उनको धारणा छ।
उनले भने, ‘हामी मानिस हौँ, पहिलो कुरा। जसले हामी मानिस हौँ भन्नेकुरा बुझ्दैन, अनि बाँकी के बुझ्छ त? मानिस हौँ, मानिस भनेको बराबर हुन्छ। जातपात नचाहिने कुरा हो। यो एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा कसरी गर्ने भन्दा विकासको क्रममा ठिक तरिका छान्न नसक्दा गलत तरिका कहिले कहिले प्रवेश गरे। यस्तै यो गलत तरिका हो।’
उनले जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताए। जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने उनको धारणा छ।
प्रधानमन्त्री ओली भने, ‘सामाजिक व्यवस्थापनको यो सन्दर्भमा त्यो बिरुवालाई हुर्काउनुपर्ने बेलामा पलाएको ऐंजेरु हो यो। जातीयता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा हो। यस्तो ऐंजेरु भएपछि काँडादार हुन्छ, त्यसले छिटो घोच्छ, घोचिरहेको छ समाजलाई। यो ऐंजेरु नै हो, यसलाई फेदैमा लुछेर फालिदिनुपर्छ। हामीले तत्सम्बन्धमा प्रयास गरेका छौँ।’
Shares

प्रतिक्रिया