राजनीति


प्रचण्ड भ्रष्टाचारीका संरक्षक, उहाँहरूको गिरोह सक्रिय छ : प्रधानमन्त्री ओली

प्रचण्ड भ्रष्टाचारीका संरक्षक, उहाँहरूको गिरोह सक्रिय छ : प्रधानमन्त्री ओली

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १८:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमको खेती गरिरहेको तर भ्रष्टाचारीको संरक्षक आफै रहेको आरोप लगाएका छन्।

शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी सुरु भएको र मान्छेलाई दुःख दिने कुप्रचार गर्ने काम चलेको भनेर टिप्पणीसमेत गरे।

नराम्रा कामहरुको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष दाहालले गरिरहेको भन्दै उनले एमाले र आफूविरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको ठोकुवासमेत गरे।

उनले भने, ‘माओवादी जुन दिन देशमा पलायो, त्यो दिनबाट जाली, फटाहा, बेइमान, कहिले मुद्दा हाल्ने, के गर्ने, मान्छेहरूलाई दुःख दिने, कुप्रचार गर्ने, यो सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ। नराम्रा कामहरू जति प्रचण्ड महोदयले, नराम्रा कामहरूको नेतृत्व गरिरहनुभएको छ। उहाँहरूको गिरोह सक्रिय छ। अरू होइन, नेकपा एमालेका विरुद्ध सक्रिय छ, त्यसमा पनि मेराविरुद्ध सक्रिय छ। म शिवजीले विष सेवन गरेर कहिले गोसाईंकुण्ड पुग्नुहुन्थ्यो, कहिले कता। म यहीँ काठमाडौँ बसीबसी पिइदिन्छु, पचाइ पनि दिन्छु । जसले जेजे फैलाए पनि त्यसको खण्डन गरेर जाने हो। झुटसँग हामी कहिले पनि टेर्दैनौँ। झुटलाई पराजित गरेर जाने हो। कहिले सबैभन्दा ठूलो भ्रष्टाचारी, देशै लुटेर फेरि एमाले भ्रष्टाचारी, फेरि केपी ओली भ्रष्टाचारी? भ्रष्टाचारीको संरक्षक भएर, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने हाम्राविरुद्ध लड्न सक्दैनन्। भ्रम फिँजाएर कसरी अविश्वास पैदा गर्ने? मान्छेका मनबाट आस्था कसरी हटाउने? यिनीहरूलाई परेको पीर के हो भने नेकपा एमाले स्थापित भयो, एमालेको अध्यक्ष स्थापित भयो, त्यसकारणले यिनीहरूलाई पीर परेको हो। आफू पनि राम्रो काम गरेको भए त हुन्थ्यो नि।’ 

ओलीले देशमा कानुन रहेको र कानुनको राज देशमा बनाएर छोड्ने दाबीसमेत गरे। देशमा भ्रष्टाचारको अन्त्य गरेर छोड्ने उनको भनाइ थियो।

‘कुनै पनि भ्रष्टाचारीले कुनै भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, असंवैधानिक, गैरकानूनी, हिंसात्मक, झुट, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किन्छु भन्ने नसोच्न’ चेतावनी पनि उनले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad