राजनीति


पोखरा विमानस्थल खराब ऋणमा पर्‍यो, प्रतिफल आउँदैन: कांग्रेस

पोखरा विमानस्थल खराब ऋणमा पर्‍यो, प्रतिफल आउँदैन: कांग्रेस

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८१ सोमबार १३:२९, काठमाडौँ

नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा बनेको पोखरा विमानस्थलबाट प्रतिफल नआउने निष्कर्ष निकालेकाे छ।

आइतबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले चीनको खराब ऋणको उदाहरण पोखरा विमानस्थल रहेको बताए। 

‘पोखरा विमानस्थलको पनि हाम्रो नराम्रो अनुभव छ। त्यसको प्रतिफल नआउने सुनिश्चित भइसक्यो। यो खराब ऋणमा पर्‍यो,’ महतले पत्रकारसँग भने। 

कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो। 

बैठकमा बीआरआई अन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने र अनुदान मात्रै लिने कांग्रेसले दोहोपर्‍याएको छ। यसअघि चीनले अनुदान प्रतिबद्धता गरेकै आयोजना अगाडि नबढेको विषयमा पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ। 

ती परियोजना अगाडि बढेपछि बीआरआईअन्तर्गतका १० वटा परियोजना पनि अनुदानमा अगाडि बढ्ने कांग्रेसको विश्वास छ। ऋणमा कुनै पनि परियोजना सम्झौता नहुने निष्कर्ष कांग्रेसले सुनाएको छ।

उपनिर्वाचनको नतिजा सन्तोषजनक नै रहेको महतले बताए। बैठकमा यसबारे समीक्षा भएको र उपनिर्वाचनबाट पनि कांग्रेस पहिलो पार्टीकै रूपमा स्थापित भएकाले परिणाममा सन्तुष्टि नै लिइएको उनले बताए। 

‘स्थानीय निर्वाचनलाई राष्ट्रिय राजनीतिको मुडको रूपमा बुझ्न हुँदैन। महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ। यो परिणाममा (कांग्रेस) सन्तुष्टनै छ,’ महतले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad