चीन र नेपाल दुवै देशले केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनलाई निरन्तरता दिँदै चाँडै संयुक्त संयन्त्रको बैठक बस्ने भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने औपचारिक भ्रमणका क्रममा बेइजिङमा दुई देशले संयुक्त वक्तव्य जारी गर्दै यो प्रतिबद्धता जनाएका हुन्।
यसका लागि चीन–नेपाल रेलमार्ग सहकार्यअन्तर्गत दुवै देशको संयुक्त कार्यसमूहको नवौँ बैठक तय भएको वक्तव्यमा उल्लेख छ।
रेलमार्ग क्षेत्रमा नेपालीको दक्षता अभिवृद्धि गर्न चीनले सहयोग जारी राख्ने पनि वक्तव्यमा खुलाइएको छ।
संयुक्त वक्तव्यमा लेखिएको छ, ‘दुवै पक्षले केरुङ-काठमाडौँ सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई निरन्तर अगाडि बढाउने इच्छा व्यक्त गरेका छन् र चीन-नेपाल रेलवे सहयोगमा नवौँ कार्य बैठक आयोजना गर्ने योजना तय गरेका छन्। चिनियाँ पक्षले नेपाललाई रेलमार्ग क्षेत्रका पेसाकर्मीहरूलाई तालिम दिन सहयोग जारी राख्नेछ।’
चीनको केरूङदेखि नेपालको राजधानी काठमाडौँसम्म रेलमार्ग निर्माण गर्न चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा २०७९ पुसदेखि सम्भाव्यता अध्ययनको काम भइरहेको छ। यो काम २०८३ असारसम्म सक्ने लक्ष्य छ।
चीनले २०७५ मा यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो। नेसनल रेलवे अथोरिटी अफ चाइनाले उक्त अध्ययनको प्रतिवेदन २०७५ मंसिर २५ मा नेपाललाई पनि बुझाएको थियो।
२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो।
केरुङ–काठमाडौँ रेलमार्गको लम्बाइ करिब १ सय ७० किलोमिटर हुने आकलन छ। त्यसमा नेपालतर्फ ७२ किलोमिटर पर्छ।
Shares

प्रतिक्रिया