अप्रत्याशित नतिजा दिने गरेको कीर्तिपुर क्षेत्रमा यसपटकको उपचुनावमा कस्तो नतिजा आउला, सर्वत्र चासो छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ८ दल र १० स्वतन्त्र उम्मेदवार उपचुनावबाट मेयर बन्ने प्रतिस्पर्धामा छन्।
मंसिर १६ गते हुने उपचुनावले आगामी २९ महिनाका लागि मेयर निर्वाचित गराउने छ।
कीर्तिपुर नगरपापलिकामा दलीय उम्मेदवारलाई स्वतन्त्रले बलियो टक्कर दिने मतदाताको भनाइ छ। अहिलेसम्म चौपक्षीय भीडन्तको सम्भावना रहेको मतदाता बताउँछन्।
दल र स्वतन्त्र उम्मेदवारको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ। बिहीबार अन्तिम चुनावी सभा हुँदैछन्। अहिलेसम्म उपचुनावको रुझान मिश्रित देखिन्छ।
सबै वडामा घरदैलो अभियानको मैझारो गरेका दल र स्वतन्त्र उम्मेदवार चुनावी नतिजाबारे प्रष्ट भन्न सक्ने अवस्थामा छैनन्।
किनकि, यसपटक कीर्तिपुरका मतदाता बाँडिएका छन्।

उनीहरू कीर्तिपुरमा पनि धरानका मेयर हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह जस्तै मेयर हुन् भन्ने चाहन्छन्। नेताका व्यवहारले निराश रहेको भन्दै उनीहरू दलको गढ भत्काउनुपर्ने कुरा उठाउँछन्।
केही वडामा पुग्दा यस्तै अभिव्यक्ति दिने थुप्रै मतदाता भेटिए।
नेतामाथि लगाइएको अपुष्ट र अपत्यारिलो आरोप–प्रत्यारोप मतदाताको चिया गफको मुख्य विषय बनेको छ।
‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कसैको ह्विप लाग्दैन। दलले जिते भने ह्विप लगाउँदा रहेछन्। अहिले रवि लामिछाने र दुर्गा थुन्ने र धनराज र लीलाबल्लभलाई मुद्दा नचलाएकोले त्यही देखायो,’ ४ नम्बर वडाका मतदाता रामकृष्ण अधिकारीले नेपालखबरसँग भने।
२०७९ वैशाखमा भएको चुनावमा वडामा श्याम अधिकारीले एक सदस्यबाहेक ४ जना स्वतन्त्रबाटै जिताएका थिए।
श्यामको दुर्घटनामा परेर मृत्यु भएपछि उपचुनाव हुन लागेको हो। सो वडामा अहिले कसले जित्छ ठोकुवा गर्ने अवस्था छैन।
यद्यपि, स्वतन्त्रकै पक्षमा खुलेर लाग्नेहरू बढी भेटिन्छन्। त्यसको असर नगरपालिकामा पर्नसक्ने मतदाताको भनाइ छ। तर, मतदानका लागि अझै केही दिन बाँकी भएकोले चुनावी परिणामबारे अनुमान गर्न कठिन छ।
तर, वडा नम्बर १, ३, ४, ५, १० नम्बरका केही मतदाताका भनाई अनुसार यसपटक कीर्तिपुरले अप्रत्याशित नतिजा दिए अनौठो मान्नुपर्दैन।

१९ उम्मेदवार, चर्चामा आधा दर्जन
नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि मंसिर १६ गते उपचुनाव हुन लागेको हो।
जसमा २० जनाको उम्मेदवारी परेको थियो। नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जन प्रमुख दलका उम्मेदवार हुन्। नेकपा एकीकृत समाजवादी पार्टीले माओवादीका शिवशरण महर्जनलाई समर्थन गरिसकेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टी नेपालका दीपक महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ पनि दलबाट नगरप्रमुखमा उम्मेदवार छन्।
स्वतन्त्र रूपमा डा. नवरथकुमार बानियाँ इस्टकोट चिह्न लिएर उठेका छन्। यसैगरी केटाकेटी चिह्न लिएर राजमान महर्जन चुनाव प्रचारमा व्यस्त छन्। उनलाई पानीको बोतल चुनाव चिह्न पाएका नरेश श्रेष्ठले समर्थन गरेका छन्।
यस्तै, रामकृष्ण महर्जन–जेब्रा, मिम महर्जन–क्यामेरा, प्रेमबहादुर महर्जन–ब्याडमिन्टन कर्क, दिनेशकुमार अधिकारी–कैँची, धर्मरत्न मानन्धर–क्याल्कुलेटर, आनन्द महर्जन–मुढा, नरेशराज पाण्डे–आँप र कवि कुमार महर्जनको बाकस चिह्न छ।
कांग्रेसका कृष्णमान, एमालेका सुरेन्द्र र माओवादीका शिवशरण तथा स्वतन्त्रमा डा.नवरथ, राजमान र कविको चर्चा बढी छ।
चुनावी परिणामबारे अनेक चर्चा छ। कांग्रेस, एमालेलाई उनीहरूकै दल निकट उठेकाले मत घट्ने अनुमान गर्ने पनि छन्। एकीकृत समाजवादीले सघाउने भएकाले माओवादीहरू केही उत्साहित छन्।
स्वतन्त्र उम्मेदवार राजमान रास्वपा र हर्कको साथ पाएर उत्साहित छन्।

मतदाताको मन स्वतन्त्र कि दल?
साईराम चोकका ७५ वर्षीय रामकृष्ण अधिकारीले पार्टीबाट मन रोएको बताए। उनले कांग्रेस–एमालेले सत्तामा रहेर गरेको व्यवहारले निराशा बढदै गएको बताए।
यस्तै, श्रीराम थापा पनि यसपटक दललाई मत नदिने पक्षमा रहेको बताउँछन्। विगत ५/६ वटा चुनावमा दललाई मत दिएपनि कुनै माखो नमारेको उनको भनाइ छ।
‘मेरो प्रष्ट लाइन पार्टीलाई मत नदिने हो,’ उनले भने, ‘पछिल्ला गतिविधि र रवैया हेर्दा देशमा न्याय मर्यो।’
उनले अहिलेसम्म स्वतन्त्रकै पक्षमा माहोल भए पनि नतिजाबारे यसै भन्न नसकिने बताए।
‘मतदाता अहिलेसम्म स्वतन्त्र हो, तर अब दुई दिनमा के हुन्छ हेरौँ,’ थापाले थपे।
१ नम्बर वडाका मतदाता युधिष्ठिर महर्जनले घोषणा गरे–‘यसपटक स्वतन्त्रलाई मत दिने हो।’
तर, वडा नम्बर १० की मतदाता चुनदेवी शाक्य चुनाव रोचक हुने बताउँछिन्। उनले दलकै उम्मेदवार बलियो रहेको बताइन्।
‘यसपटक भन्नै गाह्रो छ, तीनै पार्टीका राम्रा उम्मेदवार उठ्नु भएको छ,’ उनी भन्छिन्, ‘मत दिने बेला कता बढी झर्छ, हेरौँ।’
उनले यस्तो कडा प्रतिस्पर्धा पहिलोपटक देखिएको बताइन्।
‘माओवादी उम्मेदवार यहीँ नजिकैको हुनुहुन्छ, उहाँ पनि लोकप्रिय हो,’ उनले थपिन्, ‘अरु दाइ पनि यतैको हुनुहुन्छ।’
कीर्तिपुरको वडा नम्बर १० की स्थानीय निरु महर्जन चुनावप्रति उत्साहित थिइनन्। तर, उनले चुनावमा तीनजना उम्मेदवारको नाम चर्चामा रहेको बताइन्। माओवादीका शिवशरण, स्वतन्त्र राजमान र कांग्रेसका कृष्णमान।
चुनाव प्रचारमा दलका फौज हिँडेको तर, पहिलेजस्तो चुनावमा हुनुपर्ने उत्साह यसपटक नदेखिएको उनले बताइन्।
‘जसले जिते पनि उही हो,’ निरु महर्जनले भनिन्।

दललाई यसरी लाग्न सक्छ धक्का
भत्केपाटीबाट दुई सय मिटरमाथि चोकमा भेटिएका ७६ वर्षीय हरिबहादुर थापाले चुनावबारे अनेक कुरा सुनिएको बताए।
‘युवाहरू कोही दलतिर छन्। कोही स्वतन्त्र भनेर कुदेका देख्छु,’ उनले भने, ‘यसपटक स्वतन्त्र र तीनदलबीच राम्रै टक्कर पर्ने सुन्या छु। परिणाम भन्न सक्तिनँ।’
उनका अनुसार ४ नम्बर वडामा स्वतन्त्र र काङ्ग्रेसबीच प्रतिस्पर्धा छ। स्थानीय तहमा राजनीतिक पार्टीले उम्मेदवार उठाउन नपाउने व्यवस्था गर्नुपर्ने भन्दै गैरदलीय स्वतन्त्र उम्मेदवारलाई जिताउने अभियान लिएर केही समयदेखि कीर्तिपुर गेटमा अनसन बसिरहेका नागरिक पहिलो अभियानका संयोजक सनोज महतले कीर्तिपुर नगरको चुनावमा स्वतन्त्र र दलीय उम्मेदवारको प्रतिस्पर्धा उस्तै रहेको बताए।
उनी राजमानको पक्षमा मत मागिरहेको बताउँछन्। तर, स्वतन्त्रकै अन्य तीनजना उम्मेदवार पनि बलियो रहेको उनको भनाइ छ।
‘नरेश श्रेष्ठले समर्थन गरेपछि र धरान उपमहानगरका मेयर हर्क साम्पाङ आएपछि राजमानको पक्षमा माहोल बढेको छ,’ उनले भने, ‘एक त एमाले पृष्ठभूमि; दोस्रो, १६ वर्षदेखि सडक सफाइ गरिरहेका सबैले चिन्ने अनुहार। अनि, कीर्तिपुरकै चर्चित लहना रेस्टुरेन्टका सञ्चालक समिति अध्यक्ष।’
तर, अहिले पनि चुनावी नतिजा यही हुन्छ भन्न नसकिने उनी बताउँछन्।
‘यहाँ ३१ हजार मतदाता छन्, कति मत खस्छ भन्ने मुख्य कुरा हो,’ उनले थपे, ‘गैरदलीय मत पचास प्रतिशत कटाउन सके चुनाव रोचक हुन्छ। स्वतन्त्रका केही उम्मेदवारले कांग्रेस–एमालेको मत कति काट्छन् भन्ने कुरामा भर पर्छ।’

आउला त चकित तुल्याउने नतिजा?
कीर्तिपुरका मतदाताको मनोविज्ञान एकैनासको छैन।
२०७४ को स्थानीय तहमा एमालेलाई जिताएका मतदाताले २०७९ मा ४ नम्बर वडाबाहेक सबैमा कांग्रेसलाई जिताएका थिए।
तर, दुई वर्षमै कतिपय मतदाता स्वतन्त्रतर्फ ढल्किएको बताउँछन्।
तर, छिन्नभिन्न भएको माओवादी केन्द्र भने यसपटक एक ठाउँमा उभिएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न टुक्रामा विभाजित माओवादीहरू यसपटक शिवशरणका पक्षमा छन्।
यसअघिको चुनावमा ४ हजार मत ल्याएकोले यसमा कम्तीमा हजार मत थप्न सके जितिने माओवादी विश्लेषण छ।

राजमानको चुनावी प्रचारमा भेटिएका राजेन्द्र महर्जनले पनि कडा प्रतिस्पर्धा हुने दाबी गरे।
‘भोलि हर्क साम्पाङ आउनुहुन्छ, वागभैरव मन्दिर परिसरमा बृहत् आमसभा राखेका छौँ,’ उनले भने, ‘हामीलाई केही चर्चित व्यक्तिको समर्थन छ।’
राजमानलाई काठमाडौँ महानगरका मेयर बालेन्द्रको समेत समर्थन रहेको हल्ला चलाइएको छ। यद्यपि, बालेन्द्रको सचिवालयले कसैलाई समर्थन नगरेको दाबी गर्यो।
तर, राजमान एमाले पृष्ठभूमिकै भएकोले सुरेन्द्रको मत काट्न सक्ने राजेन्द्र स्वीकार गर्छन्।
राजेन्द्रका अनुसार ८० घरधुरी समुदायले लहना रेस्टुरेन्ट चलाएको छ। त्यहाँबाट मात्र २८० मत खस्ने उनले ठोकुवा गरे।

दलका आ–आफ्नै दाबी
कीर्तिपुरमा कांग्रेस ढुक्क देखिन्छ। पार्टीबाट निर्वाचित मेयरको निधनपछि उपचुनाव भएकोले सहानुभूतिको मत आउनेमा आशावादी छ।
मतदाता हिसाब गर्दै उम्मेदवारसहितको टोली घरघर पुगेका छन्।
एमाले उम्मेदवार सुरेन्द्र मानन्धर ०७४ को विरासत फर्काउने बताउँछन्।
माओवादी केन्द्रका शिवशरण कीर्तिपुरमा नयाँ इतिहास बनाउने बताउँछन्। माओवादीको पक्षमा माहोल निकै राम्रो बनेको उनले दाबी गरे। सो पार्टीले बिहीबार अध्यक्ष प्रचण्डलाई लगेर अन्तिम चुनावी सभा गर्दैछ।
यसैगरी, स्वतन्त्रका राजमानले पनि बिहीबार नै सभा राखेका छन्। सो सभामा धरानका मेयर हर्क साम्पाङ उपस्थित हुने बताइएको छ।
राप्रपाले बुधबार चुनावी सभा गर्यो। अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहित नेताहरू उपस्थित भएका थिए।
यस्तै, नेपाल मजदुर किसान पार्टीले पनि बुधबार नै सभा गर्यो। तर, सभामा न्यून उपस्थिति थियो।
Shares

प्रतिक्रिया