राजनीति


कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास

कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास

राष्ट्रपति रामचन्द्र पौडेल कोप-२९ सम्मेलनमा सहभागी हुने नेपाली टोलीलाई बाकुमा सम्बोधन गर्दै। तस्बिर : रासस


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार २१:५७, बाकु (अजरबैजन)

आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उद्घाटन भएको छ। उद्घाटन सत्रमा जलवायुसम्बन्धी समस्या निराकरणका लागि विश्व समुदायले एकताबद्ध रुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ।

सम्मेलनको आज उद्घाटन गर्दै, कोप २९ का अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेको बताउँदै जलवायुजन्य समस्या समाधान र जलवायु जोखिमका सम्भावित समस्याका विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

यसैगरी उद्घाटन सत्रमा बोल्दै निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेलेदले सबैको सहकार्य र एकताले जलवायुजन्य समस्या निराकरणमा सहयोग पुग्नेमा जोड दिए। ‘म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु कि सबैको सकारात्मकताले नै जलवायु न्यूनीकरणका नीति कार्यान्वयनलाई बलियो बनाउन सकोस्’, उनले भने।

संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको बताए। जलवायुजन्य समस्या समाधान गर्न सबैै एकजुट हुनुपर्नेमा उनको जोड छ।

आगामी नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोप सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन्। राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा प्रमेश्वर पोखरेलले जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्वन उत्सर्जनले निम्त्याएका समस्या समीक्षा गर्दै यसको न्यूनीकरणका लागि कोप सम्मेलनमा समाधान पहिल्याउने विश्वास व्यक्त गरे। विकासशील देशहरुले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या समाधानका लागि अपनाउनुपर्ने उपायबारे सम्मेलनले निष्कर्ष निकाल्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि विश्वसमक्ष नेपालको धारणा प्रस्तुत गर्दै छन्। एक सय ९२ भन्दा बढी मुलुकको राष्ट्र प्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सम्मिलित सम्मेलनमा उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणसमेत प्रस्तुत गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेललाई दर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गर्ने क्रममा हालको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताएका छन्। यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता गरेको रकम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad