राजनीति


कोप २९ मा राखिने नेपालको धारणाबारे राष्ट्रपतिलाई सांसदहरुको अनुरोध पत्र

कोप २९ मा राखिने नेपालको धारणाबारे राष्ट्रपतिलाई सांसदहरुको अनुरोध पत्र

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार २०:४८, काठमाडौँ

नेपालमा जलवायु परिवर्तनको असर र यसले पारेको प्रभावबारे चासो राख्दै सक्रिय रहेका सांसदहरूको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटगरी आगामी कोप २९ मा नेपालका तर्फबाट राखिनुपर्ने धारणा समेटिएको अनुरोध पत्र बुझाएका छन्। 

बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको समेत उपस्थितिमा सांसदहरूले आगामी जलवायु परिवर्तन सम्मेलन (कोप २९) मा नेपालका तर्फबाट उठान गर्नुपर्ने मुख्य धारणा र मुद्दाबारे पत्र हस्तान्तरण गरेको प्रतिनधि सभा सदस्य माधव सापकोटाले जानकारी दिए। 

सांसदहरूले बुझाएको अनुरोध पत्रमा नेपालले जलवायु परिवर्तनबाट खेप्नु परेको भयावह अवस्थामा मूलतः हानि नोक्सानी कोषको पहुँचलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

साथै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै पानी, जैविक विविधता, र पर्यावरणीय सेवा प्रदान गर्ने देशका रूपमा आफ्ना मागहरू स्पष्ट राख्नुपर्ने सुझाव दिइएको छ।

अनुरोध पत्रमा नेपालको जलवायु अनुकूलन प्रयासका लागि उपलब्ध कोष अत्यन्त न्यून भएको र यसले जलवायु न्यायको सिद्धान्तलाई कमजोर बनाएको उल्लेख छ।

नेपालले आफ्नो कूल भूभागको ४५ प्रतिशत वन जोगा पर्यावरणीय सन्तुलन कायम राखेको तथा विद्युतीय सवारी साधनको प्रयोग र नवीकरणीय ऊर्जा उत्पादनमा प्रगति गरेको भए पनि आवश्यक वित्तीय सहयोग नपाउँदा योजना प्रभावकारी बन्न नसकेको विषय उठान हुनुपर्ने सांसदहरूको भनाइ छ।

सांसदहरूले कोप २९ मा नेपालको माग र अडानको रूपमा जलवायु अनुकूलन कोषको पहुँचलाई दोब्बर बनाउन, हिमाल, मानव र जलवायु परिवर्तनको मुद्दालाई मुख्य प्राथमिकतामा राख्न, क्षति–नोक्सानी कोषलाई ऋणका सट्टा सहयोगका रूपमा उपलब्ध गराउन, तथा कार्बन उत्सर्जन कटौतीका लागि ठोस योजना बनाउनुपर्ने बुँदा समावेश गर्न आग्रह गरेका छन्। 

पत्रमा नेपाल अति कम विकसित मुलुकबाट विकासशील  राष्ट्रमा प्रवेश गर्न लागेको सन्दर्भमा नेपालको जलवायु न्यायको मुद्दामा सहकार्य गरिरहेको अति कम विकसित मुलुकहरूको सञ्जालबाट बाहिर आउँदा हाम्रो सहकार्य कस्ता राष्ट्रहरूको सञ्जालसँग गर्ने भन्ने विषयमा रणनीतिक छलफल गर्न आवश्यक रहेको उल्लेख छ। 

सांसदहरूका तर्फबाट सापकोटाले अनुरोधपत्र बारे जानकारी गराएकोमा राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा यि विषयलाई समेट्न प्रयास गर्ने बताएका थिए।

अनुरोधपत्र लिएर प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापा, पूर्वाधार विकास समिति सभापति दीपक बहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख सचेतक सन्तोष परियार, नेकपा एमाले सचेतक सुनीता बराल, सांसद सापकोटा, प्रतिमा गौतम र सरस्वती सुब्बालगायतको उपस्थिति रहेको थियो। 

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप २९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad