राजनीति


वीरगञ्ज कारागारको खानेपानी र शौचालयको समस्या समाधान गर्न मन्त्री यादवको निर्देशन

वीरगञ्ज कारागारको खानेपानी र शौचालयको समस्या समाधान गर्न मन्त्री यादवको निर्देशन

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १६:६, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गरेका छन्। शनिवार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिएका हुन्।

त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम शुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताए।

स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुगेका उनले ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न निर्देशन दिएको सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए।

मन्त्री यादवले भने, ‘एउटा यहाँ शौचालयको समस्या आयो। शौचालय भत्केको अवस्था छ। लाईन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाईन्टमा नै पिसाव गर्नुपर्ने अवस्था देखियो। ती समस्याहरु छन्। अर्को खानेपानीको समस्या छ। अर्को बिजुलीको समस्या पनि राखेका छन्। वायरिङको समस्या भएकाले एउटा कैदीबन्दीको केही समय अघि मृत्यु पनि भएको थियो। कहिले कैदीबन्दीको किचनको पनि समस्या छ। छाना नभएको अवस्था हो। यी अवस्थाहरू उहाँहरुले बताउनु भयो। अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर शुरु गर्छौं भनेको छु। स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु।’

त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदीबन्दीको आधारभूत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad