राजनीति


मन्त्री नपाउँदा पनि उपेन्द्रले सत्ता गठबन्धन छाड्न नसक्नुका २ कारण

मन्त्री नपाउँदा पनि उपेन्द्रले सत्ता गठबन्धन छाड्न नसक्नुका २ कारण

रामकुमार डिसी
कात्तिक १०, २०८१ शनिबार १९:२, काठमाडौँ

मधेस विद्रोहमार्फत उदाएका उपेन्द्र यादव दुई दशकको संसदीय राजनीतिमा पहिलोपटक सरकारमा कुनै भाग नपाउँदा पनि सत्तापक्षका नेता छन्।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असारमा बनाएको केपी शर्मा ओली नेतृत्वको सरकारमा यादवको दल जसपा नेपालका न कुनै मन्त्री छन्, न राज्यमन्त्री नै।

मधेस प्रदेश सरकारमा पनि उनको दलले कुनै भाग पाएको छैन। यसैपालाको चुनावबाट उदाएको जनमत पार्टीको नेतृत्वमा सरकार छ। 

यसरी केन्द्र र प्रदेश दुवैतिरका सरकारमा पूर्णरूपमा उपेक्षित हुँदा पनि उपेन्द्र यादव सत्ता गठबन्धनमै छन्। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिए, सत्तारुढ दलको बैठकमा गएकै छन्। 

सत्ता राजनीतिका चतुर खेलाडी उपेन्द्रले किन अहिले अपहेलित हुँदा पनि सत्ता गठबन्धन छाड्न सकेका छैनन् त?

प्रचण्डविरुद्ध उभिन सत्तापक्षमा
भलै रौतहटको गौर घटनामा तत्कालीन नेकपा माओवादी र उपेन्द्रको पार्टी तत्कालीन मधेसी जनअधिकार फोरमका कयौँको ज्यान जाने गरी भिडेका हुन्, त्यसयताका धेरै घटनामा उपेन्द्र यादव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथमै थिए।

हरेक सत्ता यात्रामा प्रचण्डले उपेन्द्रलाई छुटाएनन्, उपेन्द्रले पनि प्रचण्डलाई साथ दिइरहे। तर, यसपालि प्रचण्ड प्रधानमन्त्री भएका बेला र उपेन्द्र पनि सरकारमा सँगै रहेका बेला उनको दल विभाजन भयो। 

गत वैशाखमा जसपा नेपालका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ जना सांसदले जसपा विभाजन गरेर नयाँ दल जसपा नेपाल दर्ता गरे। त्यसले संसदीय राजनीतिमा उपेन्द्र यादवलाई पहिलोपल्ट निकै कमजोर बनायो। त्यही कारण कांग्रेस–एमालेको सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’ गर्दा उनलाई खासै भाउ दिइएन। 

यसबाट निकै आहत उपेन्द्रले आफ्नो दल विभाजनमा प्रचण्डको हात देखेका छन्। प्रचण्डले पनि केही हदसम्म जसपा विभाजनमा आफ्नो पनि हात भएको स्वीकार गरिसकेका छन्। आफूले जहिले पनि साथ दिएका प्रचण्ड नै आफ्नो दल विभाजनमा लागेको थाहा पाएपछि उपेन्द्रले उनीसँग निकै चित्त दुखाएका छन्। 

त्यसकै कारण उपेन्द्रले प्रचण्ड विरुद्धको खेमामा उभिन पनि आफूलाई सत्ता गठबन्धनमा सामेल गराएको राजनीतिक विश्लेषक तुलानारायण साहको बुझाइ छ। 

‘जसपाको विभाजन प्रचण्डजीको कार्यकालमा भयो,’ उनी भन्छन्, ‘मलाई लाग्छ उपेन्द्रजीले यो विभाजनमा प्रचण्डजीलाई दोषी मान्नु भएको छ। त्यसका लागि उहाँले उक्साएको भन्ने बुझाइ हुनुपर्छ। त्यसकारण उहाँ प्रचण्डजीको विपक्षीमा गएको हुनुपर्छ।’

उनी थप्छन्, ‘अहिले उपेन्द्रजीलाई सत्ता गढबन्धनमा भाग लिनु थिएन, बरु प्रचण्डजी जता हुनुहुन्छ, त्यसको विपरीत खेमामा उभिनु थियो, त्यही गर्नु भएको छ।’

जसपाकै नेताहरू पनि सत्ता गठबन्धनमा रहनु आफूहरूका लागि कुनै रहर नभए पनि प्रचण्डका कारण गएको बताउँछन्।  

‘सरकार लगभग दुई तिहाइको छ, यस्तो सरकारलाई हामी प्रतिपक्षमा बसेर के गर्ने?’ जसपा नेता लालबाबु राउत भन्छन्, ‘हामीसँग त सबैले उस्तै व्यवहार गरेका छन् नि। प्रचण्डजीले नै हाम्रो पार्टी फुटाएको सगर्व भन्नु भयो।’

अर्का नेता रकम चेमजोङ पनि अहिलेलाई यो भन्दा कुनै उत्तम विकल्प आफूहरूसँग नभएको बताउँछन। 

उनी भन्छन्, ‘सरकारलाई भोट दिएका हौँ, तर सरकारमा छैनौँ। विकल्प नै नभए पछि के गर्ने त?’

पछिसम्म भए पनि भाग पाउने आशा
अहिलेलाई सत्तामा भाग नपाए पनि विस्तारै पाउनेमा जसपा नेपालका नेताहरू आशावादी छन्। नेकपा एमालेको मात्रै सरकार नभएकाले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेलासम्म भए पनि आफूहरूले भाग पाउने उनीहरूको विश्वास छ। 

‘सत्ता गठबन्धनमा अहिले खालि ओली मात्रै छैनन्, कांग्रेस पनि छ,’ राउत भन्छन्, ‘राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन।’

राजनीतिक विश्लेषक साह शक्ति बाँडफाँटमा जसापाले पनि भाग पाउने बाटो बल्ल खुल्दै गएको बताउँछन्। 

‘पावरसेयरिङ भविष्यमा होला,’ उनको विश्वास छ, ‘बल्ल त उहाँको पावर सेयरिङ गर्ने बाटो खुल्दैछ। उहाँको पार्टीको सर्वोच्चमा मुद्दा छ। त्यो सुनुवाइ सकिएपछि समीकरण बदलिन्छ। मधेसमा पनि बदलिन्छ।’

त्यसैले वर्तमान सरकारलाई दिएको सर्मथन फिर्ता लिएर सत्ता गठबन्धन छोड्ने मनस्थितिमा आफूहरू अहिले नभएको नेता चेम्जोङ बताउँछन्। 

‘पावर सेयरिङमा अहिले हामीलाई त्यति अनुकूलता भएन,’ उनी भन्छन्, ‘तर, सर्मथन अहिले फिर्ता लिने तहमा पुगेका छैनौँ। त्यस्तै खाले दुर्घटना अथवा खराब काम सरकारबाट भयो भने सर्मथन फिर्ता पनि हुनसक्ला।’

कति कमजोर बनेका छन् उपेन्द्र?
केन्द्रमा बहुमत सांसदले पार्टी विभाजन गर्दा उपेन्द्र यादव संसदीय अंकगणितमा साँँच्चिकै कमजोर देखिएका छन्। 

तर, प्रदेश र स्थानीय तहमा भने विभाजनबाट उनलाई त्यति क्षति भएको देखिँदैन। दल विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न विकल्प दिँदा अधिकांशले मूल पार्टी जसपा नेपाल नै राजे। 

मधेस प्रदेशमा जसपाका १९ सांसद छन्। त्यसमा २ जना सांसद मात्रै विभाजित भए। १७ सांसद उपेन्द्रको पार्टीमै रहे। यसले उनको जनाधार रहेको मधेस प्रदेशमा उनलाई खासै क्षति नभएको देखाउँछ। 

त्यस्तै स्थानीय तहमा पनि उपेन्द्रलाई खासै क्षति भएको देखिँदैन। जसपाले स्थानीय चुनावमा ३० पालिका प्रमुख, ३१ उपप्रमुख र २९५ वडाध्यक्ष जितेको थियो। पार्टी विभाजनपछि पनि ती अधिकांश जनप्रतिनिधि उपेन्द्रतिरै रहे। 

केही सांसद गए पनि त्यसले पार्टी संगठनमा खासै असर नपरेको राउतको दाबी छ। 

उनी भन्छन्, ‘दुईचारजना सांसद जाँदैमा पार्टीका संगठनात्मक संरचनामा कहाँ फेरबदल छ र? केही फरक छैन। अब चुनावमा हेर्नुहोला, कोसँग संगठन रहन्छ।’

मधेसमा नयाँ पार्टीका रूपमा जनमत पार्टी उदाएको छ। यसले उपेन्द्रको पकडमा केही धक्का लागेको छ। उपेन्द्र यादव आफैँ पनि सीके राउतसँग पराजित भए। उपनिर्वाचनमा अर्को क्षेत्रबाट चुनिएर उनी आउनुपर्‍यो। 

यद्यपि, जनमत पार्टीको उदयले आफूहरूलाई ठूलो असर नपार्ने राउतको दाबी छ। 

‘जनमतमा नेतृत्व लिन सक्ने कोही छैनन्, हाम्रो प्रतिस्पर्धा भनेको कांग्रेस र एमालेसँगै हो,’ उनी भन्छन्। 

त्यस्तै मधेसमा महन्थ ठाकुर नेतृत्वको पार्टी लोसपाले गुमाउँदै गएको जनमत आफूहरूले पाउने र सीके राउतले दिन सक्ने क्षतिलाई सन्तुलनमा राख्ने राउत सुनाउँछन्। 

विश्लेषक साह पनि जसपा विभाजनले उपेन्द्रलाई खासै असर नपार्ने बताउँछन्। 

‘संसदीय राजनीतिमा सिटको संख्याको हिसाबले जसपा नेपाल कमजोर देखिएको हो,’ उनको टिप्पणी छ, ‘तर, भोटको राजनीतिमा उपेन्द्रजीलाई खासै फरक पर्ला जस्तो लाग्दैन।’

राजनीतिमा उपेन्द्रका तीन शक्ति रहेको भन्दै त्यसले उनलाई धेरै कमजोर हुन नदिने साहको विश्लेषण छ। उनका अनुसार उपेन्द्रको पहिलो शक्ति हो, २०६३ मा भएको मधेस आन्दोलनको विरासत।

‘मधेस आन्दोलनले नेपालमा मधेसी समुदायलाई पहिचान दिलायो,’ उनी भन्छन्, ‘नेपालको राजनीतिमा संघीयता दिलायो। त्यो मधेस आन्दोलनको जस उपेन्द्रजीको टाउकोमा छ। उहाँ बाँचुन्जेल त्यो लिगेसीको फाइदा पाउनुहुन्छ।’

साहका अनुसार सक्रियता र संगठन गर्न सक्ने क्षमता उपेन्द्रको दोस्रो शक्ति हो। 

‘उहाँ एकदम चलायमान नेता हो,’ उनको मत छ, ‘आफ्नो संगठन कहाँ गर्ने हो, कहाँ दौडिनुपर्छ भन्ने कुरामा उहाँको राम्रो रणनीति हुन्छ।’

विश्लेषक साहले देखेको तेस्रो शक्ति हो, उपेन्द्रको जातिगत मत। 

‘मधेसमा उहाँले निश्चित भोट बैंक बनाउनु भएको छ,’ उनी भन्छन्, ‘गएको तीन/चारवटा चुनाव हेर्दा उहाँले त्यसलाई जोगाइराख्नु भएको छ। तलमाथि भएको छ तर त्यो अब गएर स्थिर भएको छ।’

नेपालको चुनावमा जातीय समुदायको मतले चुनाव प्रभावित पार्ने मानिन्छ। मधेसमा झन् त्यस्तो प्रभाव रहेको पाइन्छ। उपेन्द्रले उल्लेख्य संख्यामा रहेको यादव समुदायको मत पाइराख्ने विश्लेषक साहको भनाइ छ। 

‘नेपालको सबै भोट बैंकमा जात एउटा फ्याक्टर हो, भूगोल अर्को हो,’ उनको मत छ, ‘उपेन्द्रजीले पनि त्यसको लाभ पाउनुहुन्छ।’
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad