राजनीति


पोखरामा कांग्रेस-एमालेले सहकारीपीडितलाई सघाउने, रास्वपा भिड्न पनि तयार

पोखरामा कांग्रेस-एमालेले सहकारीपीडितलाई सघाउने, रास्वपा भिड्न पनि तयार

पोखरामा रास्वपाको प्रदर्शन


वाशुदेव मिश्र
कात्तिक ७, २०८१ बुधबार २२:१३, पोखरा

पोखरा आजकल ‘अशान्त’ छ। कारण, सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन्। अनि, उनीमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाका ‘सेलेब्रिटी’ नेताहरू दलबलसहित सडकमा उत्रेका छन्। 

पक्राउको विरुद्धमा आन्दोलनमा होमिएका नेताहरूसँग ‘सेल्फी’ खिचाउनेहरूबाहेक साँच्चिकै पोखरेलीहरू भने सडकमा छैनन्। रमिते चाहिँ हुने नै भए! 

शुक्रबार रात अबेर रविसँगै पोखरा आएका नेता र कार्यकर्ताले आइतबार र सोमबार अराजक व्यवहार देखाए। कास्की प्रशासनले जारी गरेको निषेधाज्ञा नै तोडे। प्रहरीसँग मुठभेडमा उत्रन खोजे। कतिसम्म भने आइतबार विरोध प्रदर्शनमा आएका कास्कीको मादी गाउँपालिकाका आफ्नै पार्टीका संयोजक पदमराज पौडेलमाथि पनि उनीहरूले निर्घात कुटपिट गरे। 

मादी गाउँपालिका ३, सिल्दुजुरे घर भई पोखरा १३, काहुँखोलामा सिल्दुजुरे इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका पौडेल नै कुटपिटमा परेपछि सो पार्टीलाई सघाउँदै आएका पोखरेली शुभेच्छुकहरू निराश बने। केही अगुवा कार्यकर्ताहरू विरोध प्रदर्शनमा देखिए पनि पोखरा बाहिरका अराजक झुण्ड विरुद्ध बनेको माहौललाई उनीहरूले पनि चिर्न सकेनन्। 

कुरो बिग्रेको थाहा पाएपछि कास्कीबाटै सांसद बनेका शिव नेपाली अप्ठेरोमा परे। उनी पनि पोखरा १३ कै बासिन्दा हुन्। रास्वपाका एक नेताका अनुसार कुरा मिलाउन वरिष्ठ उपाध्यक्ष स्वर्णिम वाग्ले, तोसिमा कार्की, सुमना श्रेष्ठ, शिव नेपालीलगायत नेताहरू पदमको घर जाँदा पदम सम्हालिन त सम्हालिए तर अनाहकमा पिटाइ खाएको दुखेसो पनि सुनाए।

सोमबारदेखि त रास्वपाको विरोध प्रदर्शनबाट पोखरेलीहरूले झण्डै हात झिकेजस्तै भयो। पोखरा आफैँ आन्दोलनको लागि उक्सिने सहर पनि होइन। आन्दोलन गर्न खुसुक्क भोट हाल्ने मान्छे होइन, सडकमा खटिने कटिबद्द कार्यकर्ता चाहिन्छ। भीडलाई नियन्त्रण गर्नसक्ने नेतृत्व चाहिन्छ। त्यो कुरा बुझ्न रास्वपाका ‘सेलेब्रिटी’ नेताहरूलाई समय लाग्यो। 

‘अध्यक्ष पक्राउपछि सिंगो केन्द्रीय समिति अनि सांसदहरूसहित काठमाडौँको ‘घण्टीघर’ नै पोखरा उतारे पनि सोचेजस्तो हुन सकेन। केही शुभेच्छुकहरू बाहिर जिल्लाबाट आउनुभयो। उहाँहरूले आन्दोलन धान्ने पनि हैन। पोखरेली सडकमा उत्रेनन्। हाम्रै नेताहरू पनि सेल्फी खिचाउने र साँझ लेकसाइडको रमझममा रमाउने काम गर्नुभयो,’ रास्वपाका एक नेताले भने, ‘बिहान ११ बजे विरोध प्रदर्शन सुरु भन्यो, लेकसाइडको होटलमा बसेका नेताहरू नै १२ बजेतिर आउने। अनि र्‍यालीको व्यवस्थापन कसरी हुन्छ?’ 

ती नेताले पोखरा आएका नेताहरू लेकसाइडको रङ्गीन साँझमा भुल्नुलाई अन्यथा मान्न नहुने पनि बताए। 

उनले व्यङ्ग्यपूर्वक भने, ‘खासमा यो हाम्रा नेताहरूको दोष हैन नि!  पोखरा नै यस्तो छ, यहाँ आएपछि रात बितेको पत्तो हुँदैन। सम्साँझै सुत्ने? यो पोखरामा हुनै सक्दैन।’ 

उनका अनुसार युट्युब र फेसबुकलगायतका सामाजिक सञ्जालमा पोखरेलीले रास्वपाको प्रदर्शनलाई उतिसारो चासो दिएनन्।

रास्वपा गण्डकीका अध्यक्ष राजन गौतम भने यो कुरा मान्न तयार छैनन्। हरेक दिन विरोध प्रदर्शनमा सहभागी हुनेको संख्या बढ्दै गएको पनि उनको भनाइ छ। 

‘कसले के भन्यो भन्ने कुरा भएन, आज (बुधबार) नै हेर्नुहोस् न ७/८ हजार मान्छे थिए। थिएनन् र?’ उनले प्रश्न गरे। 

घरघर पुग्दै, सहकारी पीडितलाई फकाउँदै 
सहकारी पीडितहरूले बुधबार बिहान विज्ञप्तिमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघर पुगेर आफूहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाए। सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी सो आरोप लगाएका थिए। 

संघर्ष समितिका एक सक्रिय सदस्यका अनुसार अहिले रास्वपाको आँखाको तारो बनेका व्यक्ति हुन्– संघर्ष तथा तदर्थ समितिका अध्यक्ष किरण श्रेष्ठ र कृष्णकुमार जैसीलगायत २०८० माघ २२ गते पूरक निवेदन दिनेहरू।

सूर्यदर्शन सहकारी पीडितहरूले गृहमन्त्री रवि लामिछानेसहित ४ जनाको नाम र ठेगाना नै किटान गरी गएको माघ २२ गते प्रहरीमा निवेदन दिएका थिए। २५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाई पेस गरेको निवेदनको एक नम्बरमा नै रविको नाम उल्लेख छ। 

सहकारी ऐन र ठगीसम्बन्धी कानुनमा टेकेर दिइएको निवेदनको कसुर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाडौँ जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने ( गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको) भनी किटानी गरिएको छ। 

यस्तै उनीसँगै पूर्वसञ्चालक समिति अध्यक्ष ज्ञानबहादुर बमजन, खाता नम्बर ११६–०००३०७१ भएका नेत्रपाणि बास्तोला, नन्दकिशोर पुनका छोरा दीपेश पुन (खाता नम्बर ११६–०००३०७१) विरुद्ध पनि त्यहाँको रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिइएको थियो।

कृष्णप्रसाद जैसी, भीमा त्रिपाठी, भीमबहादुर रानाभाट, जमुना भण्डारी, विक्रम कँडेल, देवकी दाहाल, लक्ष्मी अधिकारीलगायतका व्यक्तिहरूलाई सके फकाउने र रास्वपाकै आन्दोलनमा सामेल गराउने, नसके चुप लगाउने अभियानमा रास्वपाका नेताहरूको घरदैलो केन्द्रित रहेको पनि ती पीडितको भनाइ छ। 

‘सूर्यदर्शन सहकारीबाट पोखरामा मात्रै १ हजारभन्दा बढी पीडित छन्। यहाँका अन्य ४ वटा सहकारीबाट ठगिनेको संख्या त्यस्तै छ। हाम्रो आँसु नेदेख्ने तर हामीलाई सघाइदेऊ, तिम्रो बचत फिर्ताको ग्यारेन्टी लिन्छु भन्दै उहाँहरू आउनुभएको छ। हिजो रविले नै हाम्रो कुरा सुन्नुभएन। अहिले आएर उहाँहरू हाम्रो आन्दोलन रवि छुटाउन हैन, तपाईंलाई न्याय दिलाउन हो भन्ने भ्रम छर्न लाग्नुभएको छ,’ ती सहकारी पीडितले भने, ‘हाम्रो संघर्ष समितिलाई पनि फुटाउने खेल हुँदैछ।’

उनका अनुसार आन्दोलनको अग्रभागमा देखिएकाहरूलाई फुस्ल्याउनको लागि केन्द्रीय नेताहरूले नै पहलकदमी लिइरहेका छन्। आन्दोलन समितिकी एक पदाधिकारीले त रवि लामिछानेलाई दलबलसहित हिरासतमै गएर भेटेकी छन्। आन्दोलनको अग्रपंंक्तिमा रहने अर्का एक पीडितले पनि रास्वपा केन्द्रीय सदस्य तथा रवि लामिछानेका विश्वासपात्र दीपक बोहोरासँग भेटघाट गरेका छन्। 

भेटका क्रममा ती पीडितलाई संयम भइदिन र आन्दोलनमा नउत्रन अनुरोध गरिएको पीडितहरू नै बताउँछन्। जसका कारण आइतबार विरोधमा उत्रिएका पीडितहरू सोमबारदेखि बुधबारसम्म चुप बसे। 

प्रदर्शनमा उत्रिँदै सहकारी पीडित
कास्कीका सूर्यदर्शनसहितका सहकारीपीडित बिहीबार पोखरामा विरोध प्रदर्शनमा उत्रिने भएका छन्। 

पीडितहरूले आफ्ना पक्षमा उभिन र बिहीबार पोखराको मुस्ताङचोकमा आयोजना हुने विरोध र्‍यालीमा सहभागी हुन नागरिक समाज र राजनीतिक पार्टीसँग अनुरोध पनि गरेका छन्। 

‘मिति २०८१ कात्तिक ८ गते बिहीबार बिहान ११ बजे मुस्ताङ चोक पोखरामा उपस्थिति हुन सबै सहकारीका सम्पूर्ण बचतकर्तालाई विनम्र अनुरोध गरिन्छ र यसका साथसाथै हामी सहकारी पीडितको यो प्रर्दशन कार्यक्रमलाई साथसहयोग गर्न र एकबद्धता जनाउनको निम्ति विभिन्न न्यायप्रेमी जन समुदाय, समाजसेबी, नागरिक समाज, सहकारी प्रेमी, मानवअधिकारवादी, र सम्पूर्ण राजनीतिक पार्टीहरू लाई विनम्र अनुरोध गर्दछौँ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कांग्रेस-एमालेले सघाउने
सहकारी पीडितले आन्दोलनमा सघाउन आह्वान गरेसँगै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमालेका नेता–कार्यकर्ताहरू सहकारी पीडितको पक्षमा उभिने भएका छन्। 

बाहिर नभने पनि यी दुवै दलले बैठक नै गरेर त्यो विरोध र्‍यालीमा कार्यकर्र्ता परिचालित गर्ने निर्णय गरेका हुन्। 

‘पार्टीको झण्डा बोकेर हैन, हामी पीडितले गरेको आह्वान अनुसार उनीहरूकै पक्षमा छौँ,’ एमालेका एक जिल्ला नेताले भने, ‘जान त हामी यसअघि पनि रमितेको रूपमा गएकै हो। नैतिक बल दिएकै हो तर अहिले भने हामी प्रत्यक्ष नै सडकमा उत्रिन्छौँ।’ 

नागरिक समाजले त यसअघि नै उनीहरूको आन्दोलनलाई समर्थन जनाइसकेको छ र  रास्वपालाई कानुनी प्रक्रिया प्रभावित गर्नेगरी काम नगर्न भनेको छ। 

रास्वपा पछि नहट्ने, भिड्न पनि तयार  
सहकारी पीडितहरू प्रदर्शनमा उत्रिए पनि रास्वपाले  विरोध कार्यक्रमलाई निरन्तरता दिने  भएको छ। रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमका अनुसार बिहान १० बजे जिल्ला प्रशासन कार्यालय नजिकै पर्ने ‘बाइचोक’ मा विरोध प्रदर्शन हुन लागेको हो। 

बाइचोकभन्दा तल र मुस्ताङचोकबाट जिल्ला प्रशासन कार्यालयसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। पीडित र रास्वपाले प्रदर्शन गर्ने ठाउँहरू फरक सडकका चोक हुन् तर टाढा भने छैनन्। 

अध्यक्ष गौतमले आन्दोलनको मोडल कस्तो हुन्छ भन्ने तय नभएको तर बुधबारको जस्तो शान्तिपूर्ण आन्दोलनको मोडल परिवर्तन गरौँ भन्ने कुरा पार्टीमा उठेको जानकारी दिए। 

‘बिहान १० बजे बाइचोकमा विरोध प्रदर्शन हुन्छ। मोडल चेन्ज गरौँ भन्ने कुरा भएको छ। यो आज (बुधबार) को जस्तो शान्तिपूर्ण नहुन पनि सक्छ। अर्को पक्ष (सहकारी पीडित) को पनि आन्दोलन छ रे।  हामी भिडन्तमा उत्रँदैनौँ तर उनीहरूले केही गरे भने के हुन्छ भन्न सकिँदैन,’ उनले टेलिफोनमा भने, ‘हाम्रो आन्दोलनको भाग एक सकिँदैछ। अब भाग २ आन्दोलन हो।  भाग २ कस्तो हुन्छ भन्ने कुरा भोलि नै थाहा हुन्छ।’ 

रविलाई कास्की प्रहरीले बिहीबार नै म्याद थपको माग गर्न जिल्ला अदालत कास्की लैजाँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad