राजनीति


सरकारलाई सांसदहरूको ध्यानाकर्षण : ‘राहत दिने नाममा हुने ठगी नियन्त्रण गर’

सरकारलाई सांसदहरूको ध्यानाकर्षण : ‘राहत दिने नाममा हुने ठगी नियन्त्रण गर’

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १७:६, काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरूले विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग आग्रह गरेका छन्।

बाढी, पहिरो र डुबानपछि देशमा दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढाएर जनतालाई ठग्ने काम गरेको भन्दै त्यस्ता अवाञ्छित गतिविधि बन्द गर्न उनीहरुले सरकारलाई सचेत गराएका हुन्।

शुक्रवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद युवराज शर्मा, एमालेकी सांसद सुमित्रा बिसी र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले विपद व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले नीति निर्माण गर्न र त्यसको कार्यान्वयनको कामलाई तिब्रता दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

सत्तारुढ एमालेकी सांसद सुमित्रा बिसीले गत असोज ११ र १२ गते आएको बाढि, पहिरो र डुबानको समस्या समाधान गर्ने काममा पर्याप्त ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन्।

उनले भनिन्, ‘विपद व्यवस्थापनका सरकारले जे जति गर्यो, त्यो अपुग भयो कि भन्ने मलाई व्यक्तिगत रुपमा पनि लाग्यो। अब यो प्राकृतिक प्रकोपलाई कसैले छेक्न त सक्दैन। तर अहिलेको प्रविधि अनुसार जे जति गर्न सक्दथ्यौं, त्यो अलि पुगेन कि भन्ने मलाई लागेको छ।’

सत्तारुढ कांग्रेस सांसद युवराज शर्माले विपद्को नाममा हुने गरेका अनावश्यक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरे। उनले बाढी र पहिरोपछि रोगव्याधि पनि बढ्ने सम्भावना भएको औंल्याउँदै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गरे।

सांसद शर्माले भने, ‘बाढी, पहिरोपछि रोगहरु बढेका छन्। त्यसलाई नियन्त्रण गर्नुपर्ने स्थिति आईरहेको छ। र अहिले यो बाढीको कारणले अनावश्यक महंगी वृद्धि भएको छ। महंगी हुनु स्वभाविक हो। तर साढे ४ सय रुपैयाँ किलो रायोको साग काठमाडौंमा हुनु त्यो अचम्मको कुरा हो। त्यतातिर पनि सरकारको ध्यान जानुपर्दछ। त्यो नियन्त्रण गर्नैपर्दछ।’

उनले थपे, ‘बाढीको नाममा, भूकम्पको नाममा जनतालाई ठग्ने काम जुन भईरहेको छ, त्यो पनि नियन्त्रण गर्ने सरकरको काम हो भन्ने मलाई लागेको छ। अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरौँ। भविष्यमा यस्तो स्थिति नदोहोरियोस्। त्यसका लागि विशेषतः म गृह मन्त्रालयसँग आग्रह गर्दछु।’

यता, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले पनि विपद्मा परेकाहरुलाई तत्काल राहत दिनेगरी आवश्यक नीतिगत निर्णय लिन सरकारलाई दबाब दिइन्। उनले जाजरकोटलगायतका जिल्लामा एक वर्ष बित्दा पनि भूकम्प पीडितका लागि आवास निर्माणका लागि दोस्रो किस्ता वापतको रकम सरकारले उपलब्ध नगराएकोमा पनि आक्रोश व्यक्त गरिन्।

सांसद चन्दले सरकारले विपदमा परेका जनतालाई राहत दिने कुरामा ढिलाई गर्न नहुने पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad