राजनीति


बूढानीलकण्ठमा रिसोर्ट उद्घाटन गर्दै ओलीले देउवालाई भने- उहाँ मेरा अप्ठ्यारा दिनका मित्र

बूढानीलकण्ठमा रिसोर्ट उद्घाटन गर्दै ओलीले देउवालाई भने- उहाँ मेरा अप्ठ्यारा दिनका मित्र

नेपालखबर
असोज २३, २०८१ बुधबार १९:२३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठ–१, मुहानपोखरीमा नवनिर्मित होलिडे इन रिसोर्टको आज उद्घाटन गरेका छन्। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्रको विस्तार गर्ने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए।

उनले पुँजी भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुने गरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे।

मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुत हुने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरिएको बताए।

पूर्वप्रधानमन्त्री देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रूपमा रहेको सो रिसोर्टको अत्यधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा, श्रममन्त्री शरतसिंह भण्डारी, ऊर्जामन्त्री दीपक खड्का लगायतको पनि उपस्थिति थियो। 

अध्यक्ष विनिता थापा खड्काले २० रोपनी जग्गामा ३ अर्ब ५७ करोडको लगानीमा १०४ कोठायुक्त सो रिसोर्ट निर्माण भएको जानकारी दिइन्। उनी ऊर्जामन्त्री खड्काकी श्रीमती हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad