ad ad

राजनीति


सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध

सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १९:१२, काठमाडौँ

सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

‘कानुनी प्रावधानमा राखेर टिकटकलाई खोल्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने।

टिकटक खुलाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लगेका थिए। बुधबार मन्त्रीस्तरिय निर्णय गरेर गुरुङले आजको बैठकमा प्रस्ताव लगेका हुन्। 

क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्ने भएको छ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। 

गत कार्त्तिक २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको भन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारको तर्क थियो।

सरकारको निर्णय पुनर्विचारका गर्न चिनियाँ पक्षले सरकारलाई आग्रह गरेको थियो।

यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले जारी गरेको सामाजिक सञ्जाल निर्देशिकाले नेपालको कानुन मानेर आउने जुनसुकै प्लेटफर्म पनि सञ्चालन हुन पाउने उल्लेख थियो।

त्यसअघि भएको सर्वदलीय बैठकमा तत्कालिन प्रमुखप्रतिपक्षी दलका नेता समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकटक बन्द गर्न जोड दिएका थिए।

ओलीकै सुझाव अनुसार, प्रचण्ड सरकारले टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

२०८० माघदेखि टिकटकले उच्च तहका अधिकारीलाई नेपाल भ्रमणमा पठाएरै प्रतिबन्ध खुलाउन प्रयास गरेको थियो। 

दस जनाभन्दा बढी टिकटकका प्रतिनिधिले राजनीतिक भेटवार्ता गर्दै निरन्तर ताकिता गरे। सञ्चारमन्त्री रेखा शर्मासँग पटकपटक भेट गरे। तर, प्रचण्ड सरकार रहुञ्जेल प्रतिबन्ध हट्न सकेको थिएन।

सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका थिए।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड २०८० असोज ५ गते अमेरिका हुँदै चीन भ्रमण गए। त्यहाँबाट १३ असोजमा फर्किएलगत्तै मन्त्रिपरिषदले टिकटक प्रतिबन्धको निर्णय लिएको थियो।

अघिल्लो सरकारले गरेको सो निर्णयमा चीनले असन्तुष्टि जनाउँदै ‘चीनविरोधी’ निर्णयको आरोप लगायो।

पश्चिमाहरूले चिनियाँ प्रविधिलाई निरुत्साहित गर्ने नीति लिएका बेला नेपालसमेत त्यस्तै नीतिबाट प्रभावित भएको चीनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .