ad ad

राजनीति


अन्ततः दीपक मनाङे पनि नेकपाको सदस्य, मुख्यमन्त्रीले पार्टी प्रवेश गराउँदै

अन्ततः दीपक मनाङे पनि नेकपाको सदस्य, मुख्यमन्त्रीले पार्टी प्रवेश गराउँदै

वाशुदेव मिश्र
असार १८, २०७६ बुधबार ८:१०,

तत्कालीन एमालेको सहयोगले मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सांसद बनेका दीपक मनाङेको नामबाट चर्चित राजीव गुरुङ अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सदस्य हुने भएका छन्।

नेकपा प्रवेशसँगै अब गण्डकी प्रदेशसभामा उनको ‘स्वतन्त्र’ हैसियत पनि समाप्त हुनेछ। यद्यपी, सांसदका रुपमा गण्डकी प्रदेशसभा प्रवेश गरेसँगै उनी सत्तापक्षकै लहरमा बस्दै आएका थिए । विभिन्न अवरोधकाबीच उनले गएको माघ १४ गते मात्रै सांसदको मान्यता पाएका थिए।

गुरुङका स्वकीय सचिव जगदीशनाथ योगीका अनुसार स्वतन्त्र सभासद मनांगेलाई बिहीबार बिहान नेकपाका गण्डकी इन्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बाले पार्टी प्रवेश गराउनेछन्। मनाङे तत्कालीन एमालेको भित्री सहमतिमा मनाङबाट प्रदेशसभा सदस्य बनेका थिए।

पार्टीभित्रै उनलाई टिकट दिन हुन्न भन्ने मत देखिएपछि त्यहाँ एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको थियो। तर, खण्डाको उम्मेदवारी धेरै दिन टिकेन। उनले उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सघाइन्। आफ्नी दिदी भएकीले चुनावमा खण्डाले आफूलाई सघाएको सार्वजनिक रुपले बताउने गरे पनि यसमा एमालेको पनि मिलेमतो रहेको सहजै अनुमान गरिएको थियो।

चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदबार कर्म गुरुङलाई हराएका थिए। कर्मलेभन्दा उनले ३ सय ९० भोट बढी पाएका थिए।

चुनाव जिते पनि सांसद हुन भने उनलाई सहज भएन। २०७४ मंसिरमा चुनाव जितेका उनी ज्यान मार्ने उद्योगमा संलग्नताको सजायका निम्ति पक्राउ परे। २०७५ साल पुसमा थुनामुक्त भएपछि उनले पुसकै १२ गते वारेसमार्फत सपथको लागि निवेदन दिए। सभामुख नेत्रनाथ अधिकारीले आनाकानी गर्दै रहे। अन्ततः मनाङे आफै प्रदेशसभामा गए र सभामुखसँग लामो संवाद गरे। संवादपछि सभामुख गले अनि उनी चुनाव जितेको १६ महिनापछि सभासद बने।

अहिले उनी विकास समितिको सदस्य पनि छन्। कुनै बेला विभिन्न अपराधमा संलग्न भएको आरोपसँगै उनी नेपाली कांग्रेस निकट समेत मानिन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .