नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनको निराधार हल्ला मच्चाइएको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन लागेको भनेर गलत प्रचार गरिएको दाबी गरे। बरू स्थायी समिति बैठकअघिसम्म रहेका कतिपय भ्रम चिरिएको उनले बताए।
माओवादी केन्द्रको साउन २५ देखि २९ सम्म बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १२ पृष्ठको पार्टी निर्माणसम्बन्धी र २ पृष्ठको अध्यक्ष प्रचण्डप्रति लक्षित लिखित प्रस्ताव पेस गरेका थिए।
शर्माको प्रस्तावमा अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न आग्रह गरिएको थियो। यसले माओवादीभित्र नयाँ अन्तरसंघर्ष चलेको चर्चा भइरहँदा अध्यक्ष प्रचण्डले ती सबै समाधान भएको ठोकुवा गरेका हुन्।
माओवादी बैठकमा जनार्दनको लिखित प्रस्ताव : प्रचण्डलाई संरक्षक बनाएर नेतृत्व तेस्रो तहमा हस्तान्तरण (पूर्णपाठ)
‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि टुट्छन्-फुट्छन् भनिरहेका छन्। हो–हल्ला, प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम भए। यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्,’ प्रचण्डले भने, ‘खासगरी कमरेड प्रभाकर (जनागर्दन शर्मा) ले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो। हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरलगायत अन्यमाथि जे आशंका गरिएको छ, गलत छ।’
५ दिनसम्म चलेको स्थायी समिति बैठकमा ४२ जना नेताले उठाएका प्रश्नको जवाफ प्रचण्डले बिहीबार (साउन ३१ गते) दिएर बैठक समापन गरेका छन्।
Shares

प्रतिक्रिया