ad ad

राजनीति


संसदका दुई संयुक्त समितिमा कांग्रेस-एमालेको भागबन्डा

संसदका दुई संयुक्त समितिमा कांग्रेस-एमालेको भागबन्डा

ईश्वरीदेवी न्यौपाने र तुलसाकुमारी दाहाल


नेपालखबर
साउन २९, २०८१ मंगलबार २०:२८, काठमाडौँ

संघीय संसदका दुईवटा संयुक्त समितिको नेतृत्व बिहीबार चयन हुने भएको छ।

नयाँ निर्वाचनबाट प्रतिनिधि सभा गठन भएको १९ महिनापछि दुईवटा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व चयन हुन लागेको हो।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको प्रतिनिधित्व हुने दुईवटा संयुक्त समितिहरूको सभापति चयनका लागि सभामुख देवराज घिमिरेले बिहीबारको लागि निर्वाचन तोकेका छन्।

संसद सचिवालयले बुधबार उम्मेदवारको मनोनयनको तालिका सार्वजनिक गरेको छ।

दुई समितिको नेतृत्व संसदका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गर्ने सहमति बनेको छ। जसअनुसार, सुनुवाइ समितिको नेतृत्व कांग्रेसले पाउने भएको छ भने राज्यका निर्देशक सिद्धान्त समितिको नेतृत्व एमालेको भागमा पर्नेछ।

कांग्रेस र एमाले दुवै हाल सत्तासाझेदार पनि हुन्।

सुनुवाइ समितिमा कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, श्यामकुमार घिमिरे र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई सभापतिमा अघि सार्ने तयारी गरेको छ। संसदीय समितिमै रहेका एकजना कांग्रेस सांसदले न्यौपानेलाई अघि सार्ने विषयमा दलमा लगभग समझदारी बनिसकेको र यसमा तलमाथि हुने सम्भावना कम रहेको बताए।
सुनुवाइ समितिमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी १५ सदस्य हुन्छन्।

अहिलेसम्म ज्येष्ठ सदस्यका हैसियतले पशुपतिशमेर राणाले बैठकको अध्यक्षता गर्दै आएका छन्।

राज्यका निर्देशक सिद्धान्त समितिको नेतृत्वमा एमालेबाट तुलसाकुमारी दाहाल ठाकुर गैरेमध्ये एक जनाले अवसर पाउने नेताहरूले बताएका छन्। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले यो विषय छलफलकै क्रममा रहेको र नाममा टुंगो नलागिसकेको बताए।

स्रोतअनुसार, यस समितिमा एमालेले दाहाललाई नै अघि बढाउने सम्भावना बढी रहेको छ। एमालेले यसअघि विमला घिमिरेलाई सभापति बनाउने तयारी गरेको थियो। उनी राष्ट्रिय सभा उपाध्यक्ष बनेपछि त्यस ठाउँमा दाहाललाई पठाइएको छ। पार्टी नेतृत्वले पनि सभापतिमा मनोनयनका लागि दाहाललाई तयार भएर बस्न सन्देश पठाइसकेको स्रोतले जनाएको छ। 

राज्यका निर्देशक सिद्धान्त समिति गठन भएको पनि धेरै भएको छैन। गत साउन १५ गते मात्र संसदका दुवै सदनबाट सदस्यको नाम अनुमोदन गरिएको थियो। त्यसपछि पनि ती नाममा केही हेरफेर गरिएको छ।

यस्तो छ निर्वाचन कार्यक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .