ad ad

राजनीति


आहुतिको पार्टीले भन्यो– बंगलादेश संकटको कारण भूमण्डलीकृत पुँजीवाद

आहुतिको पार्टीले भन्यो– बंगलादेश संकटको कारण भूमण्डलीकृत पुँजीवाद

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८१ आइतबार १७:१४, काठमाडौँ

विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले बंगलादेशमा हालै देखिएको संकटको मुल कारण ‘भूमण्डलीकृत पुँजीवाद’ रहेको टिप्पणी गरेको छ।  

शेख हसिनाका सत्ता ढल्नुमा सतहमा अरु कुरा देखिएको भए पनि मुख्य कुरा बेरोजगारी रहेको भन्दै आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘बंगलादेशमा आन्दोलन सुरु हुनुमा आरक्षणको विषय सतहमा देखिए तापनि अन्तर्यमा आन्दोलनको मूल कारण बेरोजगारी हो। र, त्यहाँ निरन्तर बढ्दै गएको बेरोजगारीको कारण भूमण्डलीकृत पुँजीवाद हो।’

बंगलादेशका गार्मेन्ट श्रमिकको अमानवीय ढंगले श्रम शोषण भइरहेको भन्दै उनको पार्टीले विश्व बैंक र आइएमएफले त्यहाँको अर्थतन्त्रमा हस्तक्षेप गरेको आरोप लगाएको छ। 

‘बंगलादेशी अर्थतन्त्रमा गार्मेन्ट उद्योगले मुख्य भूमिका खेलेको छ,’ पार्टी महासचिव आहुतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सस्तो श्रमका लागि विदेशी कम्पनीहरूको लगानीले गर्दा त्यहाँको अर्थतन्त्र बढ्दो देखिए तापनि त्यहाँका आम श्रमिक वर्गको अमानवीय ढंगले न्यून ज्यालामा श्रम शोषण भइरहेको छ। विश्व बैंक र आइएमएफले त्यहाँको अर्थतन्त्रमा निर्बाध हस्तक्षेप गर्न पाएका छन्।’ 

श्रमिक वर्गलाई उत्पादन प्रक्रियाबाट बेदखल गर्ने काम पनि भइरहेको बैज्ञानिक समाजवादीको भनाइ छ। ‘त्यस बाहेक त्यहाँ पनि सिंगो दक्षिण एसियामा झैँ कृषि र वस्तु उत्पादन क्षेत्रलाई कमजोर पार्दै लगी श्रमिक वर्गलाई उत्पादन प्रक्रियाबाट बेदखल गर्ने कार्य तीव्र रूपले भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फलतः विशाल तप्काका मानिसहरू या त सेवा क्षेत्रमा काम गर्न बाध्य छन् या त आफ्नो श्रम बेच्न विदेश धाउन बाध्य छन्। यस्तो अवस्थामा त्यहाँको बेरोजगारीको समस्याको समाधान हुने अवस्था थिएन।’

सत्ता परिवर्तनपछि त्यहाँका धार्मिक अल्पसंख्यकहरूमाथि आक्रमण भएको भन्दै त्यसको पनि उक्त पार्टीले आलोचना गरेको छ। 

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .