ad ad

राजनीति


नेपाल भारतको ‘प्रभावक्षेत्र’ भन्दै वाग्लेले ब्युँताउन खोजेको ‘मन्‍रो डक्ट्रिन’ को संसदमै प्रतिवाद

हाम्रो परराष्ट्रनीति विपरीत छ ‘साउथ एसियन मन्‍रो डक्ट्रिन’ अवधारणा
नेपाल भारतको ‘प्रभावक्षेत्र’ भन्दै वाग्लेले ब्युँताउन खोजेको ‘मन्‍रो डक्ट्रिन’ को संसदमै प्रतिवाद

सीताराम बराल
साउन १९, २०८१ शनिबार १७:२, काठमाडौँ

अमेरिकी राजनीतिबारे चासो राख्ने नेपालीहरूलाई प्रथम राष्ट्रपति जर्ज वासिङ्टनदेखि वर्तमान राष्ट्रपति जो बाइडेनसम्मका ४६ जनामध्ये मुस्किलले आधा दर्जन राष्ट्रपतिको नाम जानकारी होला। 

तर, तपाईं–हामीले खासै वास्ता नगरेका पाचौँ अमेरिकी राष्ट्रपति जेम्स मन्‍रो (कार्यकाल ४ मार्च १८१७–४ मार्च १८२५) यसहप्ता नेपालको राजनीतिक वृत्तमा एकाएक चर्चाको विषय बने। अन्तर्राष्ट्रिय सम्बन्धमा उनको सिद्धान्त (डक्ट्रिन) एकाएक प्रतिनिधिसभामा समेत बहसको विषय बन्यो।

त्यो थियो, राष्ट्रपति मन्‍रोलाई प्रतिपादक मानिएको ‘स्फेअर अफ इन्फ्लुएन्स’ (प्रभावक्षेत्र) सम्बन्धी सिद्धान्त। 

संयुक्त राज्य अमेरिकाका अगलबगलमा रहेका अमेरिकी महाद्वीपका राष्ट्रहरूमा कुनै बेला बेलायत, पोर्चुगल, स्पेन र फ्रान्सको उपनिवेश थियो। 

जसै मन्‍रो पाचौँ अमेरिकी राष्ट्रपति निर्वाचित भए, उनले उपमहाद्वीपको पश्चिमी क्षेत्र अमेरिकाको प्रभावक्षेत्र रहेको घोषणा गरे। यो दाबीमार्फत् उनले दिन खोजेको सन्देश के थियो भने यो हाम्रो प्रभावक्षेत्र भएकाले तिमीहरूले यहाँ दखल दिन पाउँदैनौ।  

खासमा अर्को क्षेत्र वा मुलुकलाई आफ्नो प्रभावक्षेत्र दाबी गर्नु उपनिवेशवादी विचार हो। यस्तो दोषपूर्ण विचारलाई रियलपोलिटिक (व्यावहारिक राजनीति) को नाममा स्वीकार गर्नु उपनिवेशवादको पिछलग्गू बन्नु हो। यही ‘डक्ट्रिन’ को हवाला दिँदै आफै जन्मेको मुलुक अर्कोको ‘स्फेअर अफ इन्फ्लुएन्स हो’ भन्नु र यसलाई हामी (नेपाली)ले स्वीकार गर्नुपर्छ भन्नु गुलाम सोचाइ हो। 

प्रतिनिधि सभाको सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले २१ फागुन (२०८०) मा ‘नेपाल भारतको प्रभावक्षेत्र हो र यसलाई हामीले स्वीकार गर्नुपर्छ’ भन्ने धारणा पार्टीको एक कार्यक्रममा राखेका रहेछन्। 

रास्वपाका निवर्तमान महामन्त्री डा. मुकुल ढकाल कारबाहीमा परेपछि आरोप–प्रत्यारोप चर्किंदै जाँदा डा. वाग्लेको उपरोक्त विवादास्पद विचार सतहमा आएको हो। दुई सय वर्षअघिका अमेरिकी राष्ट्रपति जेम्स मन्‍रो र उनको डक्ट्रिन नेपालमा अहिले चर्चाको विषय बन्नुको कारण यही हो।

‘साउथ एसियामा कहाँ छ मन्‍रो डक्ट्रिन?’
आन्तरिक किचलोका कारण तत्कालीन महामन्त्री डा. मुकुल ढकाल असार अन्तिम साता रास्वपाबाट निलम्बनमा परे। आफूमाथिको आरोपको प्रतिवाद गर्ने सिलसिलामा डा. ढकालले पनि एक टेलिभिजन अन्तर्वार्ता मार्फत् पार्टी उपाध्यक्ष डा. वाग्लेले भारतीय राजदूतसँग नेपाललाई भुटान (भारतीय सुरक्षा छाताभित्रको मुलुक) वा भारतको एउटा प्रान्त बनाउने प्रस्ताव गरेको गम्भीर आरोप लगाए। 

उपप्रधान तथा गृहमन्त्रीका रूपमा रास्वपा अध्यक्ष रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेको एक–दुई हप्तापछि राजदूत नवीन श्रीवास्तव लगायत भारतीय दूतावासका अधिकारीहरूसँग काठमाडौँको कुनै होटलमा रास्वपा हाइकमान्डको भेटवार्ता भएको थियो। 

डा. ढकालका भनाइमा भेटवार्तामा रास्वपाको तर्फबाट अध्यक्ष रवि लामिछाने, उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सांसद शिशिर खनाल र ढकाल आफै सहभागी थिए। 

भेटघाट सकिएपछि भारतीय राजदूत होटलबाट निस्के। रास्वपा टोली केहीबेर त्यहीँ रह्यो। त्यसपछि कुराकानी हुँदा उपाध्यक्ष वाग्लेले आफूसँग ‘नेपाललाई भुटानजस्तो (भारतीय सुरक्षा छाताभित्र रहेको मुलुक) वा भारतीय प्रान्त बन्नेगरी भारतमा गाभ्ने प्रस्ताव गरिदिऊँ, त्यसो भए यिनीहरू (?) ले मान्छन्’ भनेको दाबी ढकालले गरेका थिए। 

‘वर्षौंको मेहनत, इमान र लगनबाट आर्जन गरेको यो स्थान कुनै कारबाहीको तोडमा टक–सो धाएर बर्बराइएको झुटको जवाफ दिँदै हिँड्नलाई त म तलै झर्न पर्ला। सरी, त्यसो गर्न सकिन्न,’ महामन्त्री ढकालको आरोपको जवाफमा सामाजिक सञ्जालमा डा. वाग्लेले यत्तिमात्र लेखे, ‘कुभलो चिताउने विपक्षीहरूलाई आफ्नो हैसियत देखाउन यो बर्बराहटले मद्दत नै गरोस्, शुभकामना।’ 

रास्वपाका सांसद मनिष झाले पनि ढकालको आरोपको जवाफ (खण्डन) यसैगरी दिए।    

‘स्पष्टरूपमा अरुबाट परिचालित देखिनेगरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका, पार्टीबाट कारवाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन्,’ सामाजिक सञ्जाल ‘एक्स’ मा झाले लेखे, ‘मुकुलले खोजे अनुसार मिडियाले अझै ‘अटेन्सन’ पनि देला।’  

अर्कोको अवसानमा आफ्नो उदय देख्नु राजनीतिको विशेषता हो। महामन्त्री ढकालले उपाध्यक्ष वाग्लेमाथि लगाएको आरोप पुष्टि हुनसके ‘उदीयमान’ रास्वपाको प्रभाव विस्तार रोक्न कांग्रेस, एमाले, माओवादी लगायत पुराना दललाई सजिलो हुन्थ्यो। त्यसैले, ढकालले वाग्लेमाथि गम्भीर आरोप लगाएपछि कांग्रेस–एमालेका नेता–कार्यकर्ताको कान ठाडो हुनु स्वाभाविक थियो। 

अन्तवार्तामा ढकाल आफैले के उल्लेख गरेका छन् भने आन्तरिक कुराकानीमा वाग्लेले सो अभिव्यक्ति दिएकाले प्रमाणका लागि रेकर्डै त छैन। तर, समय–सन्दर्भ उल्लेख गरेर वाग्लेको अभिव्यक्तिलाई पुष्टि गर्ने सामर्थ्य भने उनीसँग छ।

रास्वपाले कारबाही गरेपछि महामन्त्री ढकालको यो ‘खुलासा’ ले रास्वपा राजनीतिको कपमा सानोतिनो तुफान ल्याइरहेकै थियो। त्यो तुफानसँगै रास्वपाको फेसबुक पेजमा राखिएको उपाध्यक्ष वाग्लेको एउटा सम्बोधन (भिडिओ) पार्टीपंक्तिभित्र र बाहिर भुसको आगोझैँ फैलिन थाल्यो।

त्यो भिडिओ रास्वपाले सञ्चालन गरेको ‘नीति मन्थन’ अन्तर्गतको थियो। ‘उर्जा मन्थन’ नाम दिइएको त्यो मन्थन कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहलमा २१ फागुन २०८० मा भएको थियो। निकै सकारात्मक ‘रेस्पोन्स’ पाएको त्यो मन्थन कार्यक्रममा समापन मन्तव्य उपाध्यक्ष वाग्लेले दिएका थिए।  

सम्बोधनमा वाग्लेले ‘मन्‍रो डक्ट्रिन’ को सन्दर्भ उल्लेख गर्दै भारतलाई ‘राइजिङ पावर’ का रूपमा चित्रित गरेका छन् र हामी (नेपाली) हरूले ‘राष्ट्रवादी’ बनेर विरोध होइन, व्यावहारिक बनेर त्यसलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। 

‘साउथ एसियन मन्‍रो डक्ट्रिन’ आयो अब। ऊ (भारत) राइजिङ पावर हो, यो स्पेअर अफ इन्फ्लुएन्स (प्रभावक्षेत्र) मा तिमी बाहिरी शक्तिहरूले दखल नगर (भन्ने भारतीय चाहना छ भन्ने अर्थमा),’ वाग्ले भन्छन्, ‘राइजिङ पावर (उदीयमान शक्ति) हरूको यो कुरा हामीले बुझिदिनुपर्छ। इतिहासका विद्यार्थीहरूले यो कुरालाई सहजै ग्य्रास्प गर्नुहुन्छ।’  

‘यस्तोमा र न्यासनलिजम (कच्चा राष्ट्रवाद) जाग्न हुँदैन जस्तो लाग्छ,’ वाग्ले कार्यक्रममा सहभागी पार्टीका नेता–कार्यकर्ताहरूसँग आग्रह गर्छन्, ‘प्राक्टिकल हुनुपर्‍यो, व्यावहारिक हुनु पर्‍यो।’ 

सामाजिक सञ्जालमा फैलिरहे पनि यो भिडिओ राष्ट्रिय राजनीतिको सतहमा भने आइसकेको थिएन। यसलाई सतहमा ल्याएर चर्चित र थप बहसको विषय बनाउने काम भने यसै हप्ता भयो। एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद ईश्वरी न्यौपानेले यो विषयलाई संसदमा उठाएपछि बहसको विषय बन्यो। 

‘एकजना सांसदको मुखबाट कतै चर्चामा नरहेको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन मन्‍रो डक्ट्रिनको कुरा निस्कनु र नेपालले त्यसलाई बुझिदिनुपर्ने कुरा निस्कनु लज्जास्पद र खेदजनक छ,’ प्रतिनिधि सभामा १४ साउनमा एमाले सांसद पन्तले कुरा उठाए, ‘यस्तो कुराको आलोचना र भर्त्सना गरिनुपर्छ।’  

पन्तले रास्वपाका निलम्बित महामन्त्री ढकालको आरोपलाई पार्टीबाट निकालिएपछिको रोषको रूपमा बुझेको उल्लेख गरे। तर, वाग्लेको भाषणै सुनेपछि भने आफू झस्केको पनि उल्लेख गरेका थिए।  

‘भाषणमा स्वर्णिमजी के भन्नुहुन्छ भने– म भारत गएको थिएँ, भारतीय अधिकारीहरूसँग मेरो भेट भएको थियो,’ पन्तको भनाइ छ, ‘त्यसपछि ठ्याक्क (डा. वाग्ले) भन्नुहुन्छ– हामीले भारतको कुरा बुझिदिनुपर्छ। साउथ एसियन ड्रक्ट्रिन आयो, अब त्यसलाई बुझिदिनुपर्छ। बाफ रे बाफ, यो भन्दा दुखद कुरा के हुनसक्छ?’ 

पन्तले बोलिरहँदा प्रतिनिधि सभाको बैठकमा वाग्ले पनि उपस्थित थिए। त्यहीँ उपस्थित वाग्लेसँग सभामुखमार्फत् पन्तले प्रश्न गरे, ‘साउथ एसियामा यो मन्‍रो डक्ट्रिन कहाँ छ?’ 

पन्तपछि कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने बोलिन्। उनले  डा. वाग्लेको उपरोक्त विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग गरेकी थिइन्।

हाइहाइ मन्‍रो, बाइबाइ राष्ट्रवाद 
उक्त ‘नीति मन्थन’ कार्यक्रम भन्दा दुई हप्ताअघि डा. वाग्ले नयाँदिल्लीमा भारतले आयोजना गरेको राइसिना डायलग (९–११ फागुन २०८०) मा सहभागी थिए। 

भूराजनीति र भूअर्थनीतिका सन्दर्भमा केही वर्षयता भारत सरकारले विदेश मन्त्रालय मार्फत् सञ्चालन गर्दै आएको प्रमुख नीति सम्बन्धी संवाद कार्यक्रमको नाम हो, राइसिना डायलग। डा. वाग्ले सो डायलगमा बिम्स्टेक सम्बन्धी सब–फोरममा प्यानलिस्टका रूपमा सहभागी थिए। 

यो सन्दर्भ उल्लेख किन गरिएको हो भने, पहिले उनी राइसिना डायलगका लागि नयाँदिल्ली पुगे। त्यसको दुई हप्ता नपुग्दै ‘साउथ एसियन मन्‍रो डक्ट्रिन’ र ‘त्यसलाई व्यावहारिक बनेर हामीले स्वीकार गर्नुपर्छ’ खुला वकालत उनीबाट भयो।

डा. ढकालले आरोप लगाएअनुसार नेपाललाई भुटान वा भारतको प्रान्त बनाउनुपर्ने अभिव्यक्ति भने लामिछाने दोस्रोपटक उपप्रधान तथा गृहमन्त्री भएको एक दुई हप्तापछिको घटना हो। लामिछाने दोस्रोपटक सरकारमा गएको २३ फागुन (२०८०) मा हो। 

यी तीन घटनाक्रम र डा. वाग्लेको अभिव्यक्ति भिडाउने हो भने (संयोगवश) एक रोचक शृङ्खला निर्माण भइरहेको देखिन्छ– एक, सुरुमा नयाँदिल्ली भ्रमण। दुई, त्यसपछि दक्षिण एसिया भारतको प्रभावक्षेत्र हो र त्यसलाई ‘दक्षिण एसियाली मन्‍रो डक्ट्रिन’ को रूपमा व्याख्यासहित यो डक्ट्रिनलाई हामी (नेपाली) ले स्वीकार गर्नुपर्छ भन्ने जोड। र तीन (यदि डा. ढकालले आरोप सही हो भने), नेपाललाई भुटान बनाउनुपर्छ वा कुनै प्रान्तका रूपमा भारतमा मिलाउनुपर्छ भन्ने अभिव्यक्ति। 

नयाँदिल्ली पुगेकै कुरालाई आधार बनाएर डा. वाग्लेजस्ता बौद्धिक र उदीयमान नेताको राष्ट्रप्रतिको निष्ठामाथि प्रश्न उठाउन खोजिएको होइन। बरु ‘राइसिना डाइलग’ जस्तो हाइप्रोफाइल कार्यक्रममा डा. वाग्लेको सहभागिता नेपालको लागि गौरवको विषय हो। 

जहाँसम्म नेपाललाई भुटान वा भारतीय प्रान्त बनाउने ‘प्रस्ताव’ राखेका थिए भन्ने विषय हो, यसलाई पनि एकछिनका लागि आफूमाथि कारबाही गरिएको झोँकमा रास्वपाका निवर्तमान महामन्त्री डा. ढकालले लगाएको ‘आरोप’ मात्रै हो भन्ने मानौँ। 

तर, जहाँसम्म ‘दक्षिण एसियाली मन्‍रो डक्ट्रिन’ को विषय हो, ‘हाम्रो मुलुक भारतको ‘स्फेअर अफ इन्फ्लुएन्स (प्रभावक्षेत्र) हो, राष्ट्रवादी बन्नुसाटो व्यावहारिक बनेर यो कुरा स्वीकार गर्नुपर्छ’ भन्ने विषय हो, यो कसैले डा. वाग्लेमाथि अफवाह फैलाउन रचना गरेको काल्पनिक कहानी होइन। यो त उनी आफैले बोलेको अभिव्यक्ति हो, जुन कुरा रास्वपाको फेसबुक पेजमा राखिएको भिडिओमा अहिले पनि हेर्न–सुन्न पाइन्छ।  

अमेरिका र ऊ निकट पश्चिमा राष्ट्रहरूले विगतमा यस्तो भाष्य निर्माण मात्र गरेनन्, त्यसैअनुसार नेपाललाई व्यवहार पनि गरे। उनीहरूको मान्यता थियो, नेपाल लगायत दक्षिण एसिया (पाकिस्तानबाहेक) भारतको प्रभावक्षेत्र हो। 

नेपाललाई भारतीय आँखाबाट हेरिँदो रहेछ भन्ने कुरा बेलाबखत सार्वजनिक विदेश मामिलासँग सम्बन्धित कतिपय ‘डि–क्लासिफाइड’ अमेरिकी दस्तावेजबाट पनि झल्को पाउन सकिन्छ।

अमेरिका र भारत लगायत पश्चिमा राष्ट्रहरूले निर्माण गरेको यस्तो आपत्तिजनक भाष्य मेटाउने प्रयास गर्नु सबै नेपालीको कर्तव्य हो। यसमा डा. वाग्लेजस्ता व्यक्तिहरूको अझ बढी भूमिका किन रहन्छ भने उनी अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका अन्तर्राष्ट्रिय स्तरका अर्थशास्त्री हुन्, बौद्धिक व्यक्ति हुन्। 

त्यसअघि उनले बेलायतको लन्डन स्कुल अफ इकानोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्। अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकास विषयमा स्नातकोत्तरको उपाधि पनि उनीसँग छ।  

तर दुःखको कुरा के भने नेपाल कुनै राष्ट्रको प्रभावक्षेत्र हो भन्ने यस्तो भाष्य मेटाउने प्रयास हुनुपर्नेमा त्यसलाई अझ ‘अपडेट’ गर्ने र ‘समृद्ध’ बनाउने गल्ती डा. वाग्लेबाट भयो। ‘साउथ एसियन मन्‍रो डक्ट्रिन’ को सूत्रपात र त्यसलाई हामी नेपालीले ‘राष्ट्रवादी’ नबनी ‘व्यावहारिक’ बनेर स्वीकार गर्नुपर्छ भन्ने कुराको वकालत यसको प्रमाण हो।

भोलिपल्टै जवाफका लागि उभिए वाग्ले    
ढकालले ‘नेपाललाई भुटान वा भारतको प्रान्त बनाउनुपर्छ’ भनेको आरोप लगाउँदा त्यसलाई वाग्लेले ‘झुट’ र ‘बर्बराहट’ भने। ढकालको आरोपको जवाफ दिँदा ‘मेरो स्तर तल झर्छ’ भन्दै मौन बस्न रुचाए। 

तर, पार्टीकै फेसबुक पेजमा रहेको सम्बोधनको हवाला दिँदै सांसदद्वय पन्त र न्यौपानेले जब वाग्लेमाथि प्रश्न उठाए, भोलिपल्टै (१५ साउन) जवाफका लागि संसदमा उभिन वाग्ले बाध्य भए।  

जवाफका क्रममा वाग्लेले आफ्नो कोणबाट ‘मन्‍रो डक्ट्रिन’ को सार प्रस्तुत गरेका छन्। र, भनेका छन्, राष्ट्रलाई समृद्ध बनाउनु, गरिबीबाट मुक्त गर्ने कर्म नै राष्ट्रवाद हो। दुई छिमेकी चीन र भारतले हासिल गरेको समृद्धिबाट हामीले लाभ लिनुपर्ने कुरामा पनि उनले जोड दिएका छन्। 

विनम्रपना बौद्धिकताको गहना हो। वाग्ले भने पाँच महिनाअघिको त्यो विवादास्पद अभिव्यक्तिले सिर्जना गरेका प्रश्नहरूको जवाफ (प्रष्टीकरण) दिने सन्दर्भमा ‘विनम्र बौद्धिक’ देखिँदैनन्। बरु संसदमा उनी बौद्धिकताको अहंकार प्रदर्शन गर्ने व्यक्तिका रूपमा प्रस्तुत भएका छन्। 

आफ्ना अभिव्यक्तिले सिर्जना गरेका प्रश्नको सिधा र सही जवाफ दिनुसाटो उनले प्रश्नकर्ता सांसदहरूमाथि ‘हाकाहाकी झुट बोलेको’, ‘कुरो नबुझेको’ र ‘बुझे पनि बुझ पचाएको’ आरोप लगाएका छन्।  

मुलुकको परराष्ट्रनीति प्रतिकूल अभिव्यक्ति दिएपछि विवादमा तानिएका वाग्लेले आफ्नो बचाउका लागि पार्टीका बाँकी २० सांसदहरूलाई रक्षाकवचको रूपमा उभ्याउने प्रयास गरेका छन्।

‘रास्वपाका २१ सांसदमध्ये १९ जना ५० वर्षमुनिका छौँ। युवा शक्ति छ, विदेशमा पढेका र अनुभव हासिल गरेका– तपाईंहरू यिनीहरूलाई भ्रष्टाचार र अक्षमताको आरोप लगाउन सक्नुहुन्न,’ उनी भन्छन्, ‘पञ्चायतकालमा नेपाली कांग्रेसलाई अराष्ट्रिय तत्व’ भन्ने गरिन्थ्यो। अहिले हामीलाई पनि अराष्ट्रिय तत्व भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। त्यो खेदजनक छ, हामी त्यसको डटेर सामना गर्छाैँ।’ 

तर, प्रश्नकर्ता सांसद पन्त र न्यौपानेले रास्वपा र यसका सांसदहरूलाई ‘अराष्ट्रिय तत्व’ को संकेतसम्म गरेका छैनन्। न्यौपानेले वाग्लेको आपत्तिजनक अभिव्यक्तिबारे रास्वपाको धारणा माग गरेकी थिइन्। पन्तले ‘साउथ एसियन मन्‍रो डक्ट्रिन’ को अस्तित्व र यसको पक्षपोषण गरिनुको आसयबारे प्रश्न गरेका थिए। 

यी प्रश्नको जवाफ स्वर चर्काे नपारिकनै सटीक रूपमा दिन सकिन्थ्यो। वाग्लेजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वले जवाफ दिँदा यो शैली अपनाएको भए उनको उचाइ पक्कै घट्ने थिएन, बरु बढ्थ्यो। 

तर, वाग्लेले आफूमाथिका प्रश्नहरूलाई विषयान्तर गर्न खोजिएको आरोप लगाए। संसदमा अक्सर सुनिने आम सांसदहरू झैँ वाग्ले पनि ‘भद्दा’ पाराले प्रस्तुत भए।

कतिसम्म भने आफूमाथि प्रश्न गर्ने पन्त र न्यौपानेमाथि वाग्लेले ‘गुगल गरेर मन्‍रो डक्ट्रिन विज्ञ’ बन्न खोजेको आरोपसमेत लगाए। 

‘मन्‍रो डक्ट्रिनबारे खुब गुगल गरेर रातारात विज्ञहरू निस्किरहेका छन्,’ उनले भनेका छन्, ‘मन्‍रो डक्ट्रिन उच्चारणै गर्न नजान्नेहरू पनि रातारात विज्ञ भएको मैले देखिरहेको छु।’ 

नेपाली भाषीले अंग्रेजी नाम वा शब्द उच्चारण गर्दा व्यक्तिपिच्छे उच्चारण फरक हुनु स्वाभाविक हो। तर, यस्तो र प्राविधिक विषयलाई समेत उनले संसदमा मुद्दा बनाए। ‘नामै उच्चारण गर्न त जान्दैनौ, मन्‍रो डक्ट्रिनबारे तिमीहरूले के जानेका छौ’ भनेर आफ्ना समकक्षी सांसदहरूलाई उनले संसदमै हेप्न खोजे। 

बौद्धिक त होलान्, ज्ञान पनि होला। तर, विद्वानमा हुनुपर्ने विनम्रता, अरुको कुरा सुन्नसक्ने धैर्य र आलोचना सुन्नसक्ने सामर्थ्य उनमा रहेनछ भन्ने कुरा त्यसदिन संसदमा उनले प्रदर्शन गरेको अहंकारले उदाङ्गो पार्‍यो। 

समकक्षी सांसदहरूलाई ‘गुगल गरेर विज्ञ बन्न खोजे’ भनेर होचो देखाउन खोजे। रोचक चाहिँ के भने, उनी आफैपनि गुगलको प्रयोग चाहिँ गर्दा रहेछन्। डा. पुकार मल्लले ‘जेफर्सेनियन लन्च’ को प्रस्ताव राखेपछि त्यस (जेफर्सेनियन लन्च) बारे गुगल गरेको बताएर गुगलको प्रयोग आफूले पनि गर्ने कुरा उनले खोलेका छन्। 

अमेरिकी स्वतन्त्रताको घोषणापत्र (डिक्लेयरेन्स अफ इन्डिपेन्डेन्स) का सर्जक समेत थिए, तेस्रो अमेरिकी राष्ट्रपति थोमस जेफर्सन। तिनकै नामसँग सम्बन्धित ‘जेफर्सेनियन लन्च’ बारे जानकारी लिन अस्ट्रेलिया, बेलायत र अमेरिकाजस्ता मुलुकबाट उच्च शिक्षा लिएका डा. वाग्लेलाई समेत ‘गुगल’ को सहारा लिनुपर्दाे रहेछ भने पन्त वा न्यौपानेले ‘मन्‍रो डक्ट्रिन’ बारे बुझ्न ‘गुगल’ गर्दा वाग्लेजस्ता विद्वानले किन खिसिट्युरीको विषय बनाए? 

यस्तो अभिव्यक्ति आफ्नो बौद्धिक र प्राज्ञिक छवि अनुकूल छ–छैन, एकपटक सुनेर वाग्ले आफैले मूल्याङ्कन गरुन्।  

‘अरुको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा झल्किन्छ,’ संसदमा उनी भन्छन्, ‘मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ।’ 

‘उन्नत  विकल्प’ भनेर वाग्लेले सम्भवतः विदेशको आकर्षक जागिर र तलबलाई संकेत गरेका होलान्। हुनसक्छ– उनले उल्लेख गरेको ‘असाधारण कर्म’ को अर्थ उनले रोजेको ‘राजनीतिक जीवन’ हो। 

यदि यसै हो भने, यो कुरा पनि मनन गरुन्, उनको राजनीतिक जीवन ‘असाधारण कर्म’ हो भने यस्तो ‘असाधारण कर्म’ मा हजारौँ नेपाली संलग्न छन्, उनी अपवाद होइनन्। 

बरु, समाज र मुलुकले आफूबाट कुनै ‘असाधारण परिणाम’ नपाउँदै ‘असाधारण कर्म’ गरेको दाबी ‘मपाईंवाद’ को नमुना हो। ‘मपाईंवाद’ परिवारदेखि राष्ट्रसम्मका लागि घातक छ। यो प्रवृत्तिबाट मुलुक वर्षौंवर्षदेखि पीडित छ। कोही ‘मपाईंवादी’ पीडक राजनीतिमा नथपिऊन्।   

गल्ती सच्याउने प्रक्रियाको प्रारम्भ स्वीकारोक्तिबाट हुन्छ। ‘मन्‍रो डक्ट्रिन’, विकास र राष्ट्रवादको सम्बन्धबारे १५ साउनमा उनले संसदमा गरेका व्याख्या प्रशंसनीय (नयाँ चाहिँ होइन) नै छ। 

तर, ‘हाम्रो देश कुनै राष्ट्रको प्रभावक्षेत्र हो भन्ने कुरा व्यावहारिक बनेर स्वीकार गर्नुपर्छ’ भनेको कुरा अस्वीकार गर्नसक्ने कुरा थिएन– भिडिओ नै सार्वजनिक भएका कारण। तर, गल्ती भएछ भनेर दुःख प्रकट गर्न आवश्यक ठानेनन्।

गोरखा जन्मस्थान भएकाले आफ्नो रगतमा पृथ्वीनारायण शाह र भीमसेन थापाको ‘गोर्खाली राष्ट्रवाद’ को अंश रहेको दाबी गर्न त चुकेनन् वाग्ले, तर आफ्नो मन–मस्तिष्कबाट ‘मन्‍रो डक्ट्रिन’ हटाएँ भन्ने विश्वास दिलाउन सकेनन् संसद र राष्ट्रलाई।

गलत अभिव्यक्तिप्रति माफी मागेको भए ‘मन्‍रो डक्ट्रिन’प्रतिको मोह छुट्यो भन्ने मान्न सकिन्थ्यो। सायद ‘मपाईंवाद’ले गल्ती हुँदा माफी माग्ने महानता प्रकट गर्नबाट रोक्यो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .