ad ad

राजनीति


उपसभामुख रानामाथि छानबिन गर्न सांसदहरूको माग

उपसभामुख रानामाथि छानबिन गर्न सांसदहरूको माग

नेपालखबर
साउन ९, २०८१ बुधबार १५:२, काठमाडौँ

सांसदहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानबिन गर्न माग गरेका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानवीन गर्न माग गरेका हुन्।

सांसदहरूले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन्।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन्। उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शीर निहुरिएको बताइन्। उनले छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने बताइन्।

उनले भनिन्, ‘कस्तो लज्जास्पद विषय। यो विषयमा वास्तवमा हामी सांसदहरुले शीर निहुराउनुपर्ने छ। देशको सम्मानित पदमा बस्नुभएको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन। तर यसको छानबिन हुनुपर्छ कि पर्दैन? गर्नुभएको छैन भनेपनि उहाँ त्यो दोषबाट मुक्त हुनुपर्छ। हामीलाई हेर्ने बाहिरको देशले नेपालको उपसभामुख मानव बेचबिखनको धन्दामा यसरी अग्रसर भएको छ भनेर बाहिर नभनोस्। यदि त्यसमा हुनुहुन्न भनेपनि छानबिन होस् र दोषबाट मुक्त होस्।’

बैठकमा बोल्दै नेकपा एमालेका सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानबिन गर्नुपर्ने बताए। उनले दोषी देखिएमा कानूनी कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘यो विषय सिंगो संसदसँग जोडिएको हुनाले अत्यन्तै गम्भीर खालको विषय हो। र यसलाई आवश्यक कारबाही अगाडि बढाउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु।’

एमालेका सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए। उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने बताए। उनले समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिए।

उनले भने,  ‘उपसभामुखको विषयमा हामीकहाँ निवेदन पनि आएको छ। यसलाई के गर्ने? यसको कानूनी, राजनीतिक सबै पक्षहरुलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ? फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतै बाट नउठोस्। उपसभामुख हुनुहुन्छ, किन यसरी गरियो भन्ने प्रश्न पनि नउठोस्। कानूनी र वैधानिक रुपले पनि हामीले केही गर्छौं भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ।’

उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानबिनको निर्णय गर्नुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .