अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका सहसचिव महेश बराललाई कार्यबाहक अध्यक्ष बनाएका छन्।
बरालले बिहीबार अर्थमन्त्री पौडेलसमक्ष अध्यक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।
अर्थ मन्त्रालयको मिति २०८१-४-२ को निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्यमा मनोनयन भएका थिए। सोही अनुसार उनलाई ३ गते अध्यक्षको जिम्मेवारी दिइएको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ।
सोही अनुसार यसअघि अर्थ मन्त्रालयका सहसचिव नरेन्द्र राना कार्यवाहक अध्यक्षको रुपमा बोर्डमा थिए । उनलाई असार १२ गते अध्यक्षको जिम्मेवारी दिइएको थियो।
सरकार फेरबदल भएसँगै अर्थमन्त्रीमा पौडेल आएपछि उनले अध्यक्षको जिम्मेवारी सहसचिव बराललाई दिएका हुन्।
उनी बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन्।
नियुक्ती पाएसँगै बोर्ड अध्यक्ष बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन दिएका छन्।
Shares

प्रतिक्रिया