ad ad

राजनीति


सहकारीका समस्या समाधानका लागि एमाले सहकारी विभागले दियो मन्त्री अधिकारीलाई यस्ता सुझाव

सहकारीका समस्या समाधानका लागि एमाले सहकारी विभागले दियो मन्त्री अधिकारीलाई यस्ता सुझाव

नेपालखबर
साउन १, २०८१ मंगलबार १६:२१, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले मन्त्रीको स्वागत एवं आगामी तीन वर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्बन्धमा पेस गरेको बाह्र बुँदे सुझाव पत्र ग्रहण गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका विभागका प्रमुख खगराज अधिकारीले सहकारी क्षेत्रमा अहिले भएका समस्या समाधान हुने देखि सहकारीलाई अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा स्थापित गराउनका लागि सुझाव पेश गरिएको बताए।

सुझाव पत्रमा सहकारीका क्रणीलाई क्रण तिर्ने वातावरण सिर्जना गर्ने र कर्जा असुलीमा अटेर गर्ने सदस्यहरूलाई कानुनको दायरामा ल्याउन, सहकारी एकीकरणलाई प्रोत्साहन गर्न, सहकारी समस्याको दिगो समाधानका लागि उच्चस्तरीय अधिकार सम्पन्न कार्यदल गठन गर्न, सहकारी संस्था सुद्धिकरण र सुदृढीकरण अभियान थाल्न, क्रण अशुली न्यायाधीकरण स्थापना गर्न, हरेक पालिकामा नमुना सहकारीहरूको विकास गर्दै लैजान, विशिष्टकृत नियामक निकायको स्थापना र कानुनी संहिताहरुको निमार्ण र कार्यान्वयनमा जोड दिनलगायतका १२ बुँदे सुझाव पेस गरेको हो।

सुझाव पत्रमा तत्काल र तीन आर्थिक वर्षमा गर्नुपर्ने कामहरूको सम्बन्धमा ध्यानाकर्षण गराईएको छ। तत्कालका लागि सहकारीको वर्गीकरण, कर्जा सूचना केन्द्र स्थापना, सहकारी नीतिहरुको निर्माण एवम् संशोधन गर्नुपर्ने, कानुनी र प्रशासनिक अवरोधहरू हटाउनु पर्नेलगायतका विषय उल्लेख गरिएको छ।

एमालेका विभिन्न विभागहरूले विषयगत मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरूसँग संवाद गरी उक्त क्षेत्रका समस्याहरूको ठोस समाधान गर्ने र सकारात्मक परिणाम निकाल्नका लागि पहल गर्ने उद्देश्यले मन्त्री अधिकारीसँग छलफल गरिएको एमाले केन्द्रीय सहकारी विभागले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .