ad ad

राजनीति


सरकार घोर अल्पमतमा पर्‍यो, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ : ठाकुर गैरे

सरकार घोर अल्पमतमा पर्‍यो, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ : ठाकुर गैरे

नेपालखबर
असार २४, २०८१ सोमबार ११:५८, काठमाडौँ

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

‘आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ। संविधानमा प्वाल खोज्दै हुनुहुन्छ। सरकारलाई अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोशिस गरिँदैछ,’ गैरेले भने, ‘देशमा उत्पन्न भएका समस्या समाधान गर्नका लागि, लोकतान्त्रिक शासन व्यवस्थामा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कुनै कारण छैन।’

उनले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको पनि बताए। प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको जिकिर थियो। 

‘सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको, पढ्दै आएको आजपनि उद्धरण हुँदै गरेको कुरा रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ। तर बाँसुरी बजाइरहेको छ। सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ। बरू उडायो सबै सपनाहरू हुरीले भन्ने गीत गाए हुने नि,’ उनले भने। 

साथै, उनले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनैपनि योजनाहरु कामयावी हुन नसकेको बताए।

‘त्यो भनेको नैतिक रुपले सरकार लोकतान्त्रिक प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट होइन। सेकेण्डपनि बस्ने कुरा नैतिक आधार रहँदैन। त्यसकारणले देशमा आइपरेको विपतको बेलामा, संकटको बेलामा तत्काल नयाँ सरकार बनाएर समस्या समाधान गर्ने प्रक्रियामा अगाडी बढ्न सहजता प्रदान गर्नु राम्रो हुन्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .